पर्यटन/संस्कृति

नेपाल पर्वतारोहण संघको अध्यक्षमा संस्थापनलाई हराउदै सन्तवीर लामा निर्वाचित

काठमाण्डौ, २२ साउन । नेपाल पर्वतारोहण संघमा एमाले समर्थित सन्तवीर लामा निर्वाचित भएका छन् । लामा निर्वाचित भएसंगै पहिलो पटक संस्थापन पक्ष बिरोधी समूहले बर्चश्व स्थापित गरेको हो ।
शनिवार सम्पन्न निर्वाचनमा बामपन्थी प्यानलका अध्यक्ष सन्तवीर लामाले कांग्रेस निकट जिम्मा जाङबु शेर्पालाई ६७ मतले पराजित गरेका हुन् । मतपरिपणाम अनुसार एमाले समर्थित लामाले जम्मा ३८३ मत प्राप्त गरेर बिजयी हुँदा कांग्रेस समर्थक शेर्पाले ३१६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
प्रथम उपाध्यक्षमा लामा समुहकै दिवश विक्रम शाह ३७० मत हासिल गरी विजयी भएका छन् भने प्रतिद्धन्द्धी शेर्पा समूहका भूमि लामाले ३१० मत प्राप्त गरे । त्यस्तै द्धितीय उपाध्यक्षमा लामा समुहकै माया शेर्पा विजयी भएकी छन् ।
महासचिवमा भने शेर्पा समूहमा कुलवहादुर गुरुङ ३९१ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी लामा समूहका बोधराज भण्डारीले २९१ मत प्राप्त गरे । सचिवमा लामा समूहका टिकाराम गुरुङ र कोषाध्यक्षमा पनि लामा समूहकै सुदर्शन न्यौपाने बिजयी भएका छन् । लामा समुहबाट कार्यसमिति सदस्यमा पासाङ तेण्डी शेर्पा, सिंगी लामा, मिङमार शेर्पा, विनय शाक्य, र सञ्जीव गुरुङले बिजय हासिल गरेका छन् ।
अध्यक्ष निर्वाचित भएपछि लामाले पर्वतारोहण संघमा निरन्तरताको क्रमभंग भएको भन्दै अब पर्वतारोहण क्षेत्रको सिण्डिकेट र अनियमितता अन्त्य गर्ने प्रतिक्रिय दिए । १ हजार ३९ मतदाता रहेको एनएमएको शनिबारको निर्वाचनमा जम्मा ७५६ भोट खसेको थियो । यसपटक एमालेको नेतृत्वमा बामपन्थी प्यानल बनेको थियो भने कांग्रेस नेतृत्वमा संस्थापन पक्षको प्यानल बनेको थियो ।