पु.समाचार

दोषीलाई कारबाही गर्न मन्त्री पद नै त्याग्न तयार, आपूर्तिमन्त्री शिवकुमार मण्डल

विराटनगर, २२ साउन । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमका लागि जग्गा खरिदमा अनियमितता गर्नेलाई कारबाही गरेरै छोड्ने बताएका छन् । बरु आफूले मन्त्री पद त्याग्ने तर, दोषीलाई कारबाही गर्न खुट्टा नकमाउने उनको दाबी छ ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला मोरङ आएका मण्डलले विरानगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, दोषी ठहर भएको खण्डमा कारबाही गर्ने कुरामा मन्त्रालय दृढतापूर्वक अघि बढ्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’

दोषीलाई कारबाही गर्नेमा केहीले शंका गरेको भन्दै मन्त्री मण्डलले जो सुकैको फोन आओस्, मन्त्रालय नै छोड्नु परोस् तर दोषीलाई कारवाही हुने स्पष्ट पारे । लेखा समितिले जग्गा खरिदमा अनियमिता भएको भन्दै अख्तियारमा पठाएको र आफूले पनि आन्तरिक छानविन गर्न निर्देशन दिइसकेको उनले बताए ।