आर्थिक

३ बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाण्डौ, २२ साउन । तीन वटा वित्तीय संस्थाको हकप्रद भर्ने आइतवार अन्तिम दिन रहेको छ । एभरेष्ट बैंकको तीन बराबर एक, गुडविल फाइनान्सको १० बराबर छ सय पूर्णिमा विकास बैंकको चार बराबर एकको अनुपातमा हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो ।

जसअनुसार, आइतवारको बैंकिङ समयभित्रमा दिइएका आवेदनले मात्रै मान्यता पाउनेछन् । एभरेष्ट बैंकले असार १८ गतेदेखि एक करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर बिक्री खुला गरेको थियो । असार ६ गतेसम्म कायम सेयरधनीले बैंकको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लजिम्पाट काठमाडौंबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
गूडविल फाइनान्स लिमिटेडले पनि असार १८ देखि नै हकप्रद सेयर निष्काशन गरिरहेको छ । जसमा असार १ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

त्यसैगरी, पूर्णिमा विकास बैंकले असार १९ गतेदेखि निष्काशन गरेको हकप्रदमा जेठ १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।