शिक्षा

बागलुङमा ‘पढाऔँ अभियान’ शुरु

बागलुङ । शिक्षाको अवसरबाट कोही पनि बालबालिका वञ्चित नहुन् भन्ने उद्देश्यले यहाँको एक सामाजिक संस्थाले ‘पढाऔँ अभियान’ शुरु गरेको छ । मालिका सेवा समाज, बागलुङले ‘दीर्घकालीन शैक्षिक अक्षयकोष’ मार्फत अभियान सञ्चालन गरेको हो । शनिबार आयोजित कार्यक्रममा पूर्वऊर्जा राज्यमन्त्री रामजी शर्माले अभियान र कोषको एकसाथ घोषणा गरेका छन् ।

कोषमा हालसम्म रु आठ लाख आठ हजार ५९१ जम्मा भइसकेको समाजका अध्यक्ष दुर्गा कुँवरले जानकारी दिए । शनिबार नै समाजले विपन्न परिवारका दुई बालबालिकालाई पढाउने जिम्मा लिई विद्यालय भर्ना गरेको छ । बागलुङ नगरपालिका–५ का गोविन्द शर्माकी छोरी सीमा शर्मा र संजोग शर्माले कक्षा नर्सरीदेखि १० सम्म निःशुल्क पढ्न पाउने भएका छन् ।

“दुवै बालबालिकालाई सदरमुकामस्थित न्यू ओयसिस एकेडेमीमा भर्ना गर्यो”, अध्यक्ष कुँवरले भने, “आवासीय सुविधासहित सम्पूर्ण पढाइको खर्च समाजले व्यहोर्छ ।” समाजले कोष निर्माणको लागि सामाजिक सञ्जाल फेसबुकबाट अभियान थालेको थियो । विश्वका विभिन्न मुलुकमा रहेका नेपाली जोडिएका कारण नै उक्त अभियानबाट सो रकम जुटेको हो ।

पढाइमा समाजको सहयोग पाएका सीमा र संजोगकी आमाको निधन भइसकेको छ भने बुबा रोजगारीका लागि खाडी मुलुकमा रहेका छन् । हजुरबुबा, आमासँग बस्दै आएका उनीहरुको पठनपाठन र रेखदेखमा समस्या आएपछि समाजले सहयोगको हात अघि बढाएको हो । रासस