राजनीति

अब मुलुक ७७ जिल्ला कायम हुन्छ ः कानून, न्याय तथा संसदीय मामिला मन्त्री

काठमाण्डौ, २१ साउन । मुलुक अब ७७ जिल्लामा कायम रहने कानून, न्याय तथा संसदिय मामिला मन्त्री यज्ञबहादुर थापाले बताएका छन् ।

प्रदेशको सीमा निर्धारण गर्ने सन्दर्भमा नवलपरासी र रुकुमका आधा–आधा भाग फरक प्रदेशमा परेकाले अब ७७ वटा जिल्ला समन्वय समिति गठन हुने पनि कानून मन्त्री थापाको भनाइ छ । शनिबार आयोजित एक कार्यक्रममा मन्त्री थापाले तस्तो बताएका हुन् । मन्त्री थापाले स्थानीय तहको तेस्रो चरण अन्तर्गतको चुनाबमा सबै होमिइसकेको बताएका छन् । प्रदेश नम्बर– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता उत्साहित भएको मन्त्री थापाको भनाइ छ ।

मन्त्री थापाले समग्र निर्वाचनको माहौल बनाउन राष्ट्रिय जनता पार्टीले उठाएका जायज मुद्दालाई भने सम्बोधन गर्न जरुरी रहेको उल्लेख गरे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मधेशमा उठेका जायज मुद्दालाई सम्बोधन गर्न संविधान संशोधनमा सहयोग पुर्याउनुपर्ने भन्दै संशोधनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रयत्नरत रहेको उनको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र गणतन्त्र कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रालयलाई धेरै कानून निर्माण गर्नुपर्ने दायित्व रहेको बताउँदै मन्त्री थापाले त्यस क्रममा ५१ वटा विधेयक पारित गरी ऐन, कानून निर्माण भइसकेको जानकारी दिएका छन् ।