अन्तर्राष्ट्रिय

पेरिस सम्झौताबाट अमेरिका अलग रहने

काठमाण्डौ, २१ साउन । अमेरिकी ह्वाइट हाउसले संयुक्त राष्ट्रसंघलाई आफू जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग हुने जानकारी दिएको छ ।
राष्ट्रपति डोनाल्ट ट्रम्पले गत जुनमा गरेको निर्णय कार्यन्वयन गर्न लागिएको वासिङटनले राष्ट्रसंघलाई जानकारी दिएको हो । तर अमेरिकी विदेश मन्त्रालयले बहिर्गमन प्रकिया पुरा नहुन्जेलसम्म अमेरिका जलवायु परिवर्तन सम्बन्धी बैठकहरुमा सहभागी हुने बताएको छ ।

राष्ट्रपति ट्रम्पले पेरिस सम्झौताले अमेरिकालाई खर्बाैं डलरको नोक्सानी हुने, रोजगारी गुम्ने र देशभित्रका उर्जा तथा उत्पादनसम्बन्धी उद्योगहरुमा क्षति पुग्ने बताएका छन् । हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने लक्ष्य सहित २ सय वटा देशले हस्ताक्षर गरेको पेरिस सम्झौताले अमेरिकालाई घाटा पुर्याउने सन्देश राष्ट्रसंघलाई पठाइएको पत्रमा उल्लेख छ ।

यसैबीच, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले केही समय पहिले प्यारिस गएका ट्रम्पलाई जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा कायम रहन आफूले मनाएको जनाएका थिए । पेरिस सम्झौता परिमार्जनबारे ट्रम्पले राखेको प्रस्ताव विश्व नेताहरुले अस्वीकार गरिसकेका छन । अमेरिकाले सन् २०१९ को नोभेम्बर अघि सो सम्झौताबाट औपचारिक रुपमा अलग हुने प्रकिया शुरु गर्न भने सक्नेछैन ।