पु.समाचार

भरतपुर १९ मा ७५.५८ प्रतिशत मत खस्यो, मतगणना कडा सुरक्षा घेरामा

भरतपुर, २० साउन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज दोस्रो पटक मतदान सम्पन्न भएको छ । पहिलो चरण अन्तर्गत नै भएको निर्वाचनमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आज ८२ दिनपछि पुनः मतदान भएको हो ।
आजको मतदानमा ७५ दशमलव ५८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३ वटा निर्वाचन केन्द्र रहेको मतदान केन्द्रमा जम्मा मतदाता संख्या ३ हजार ७ सय ९७ रहेका थिए । त्यस मध्ये २ हजार ८ सय ७० मत खसेको सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिएका छन् ।
यो निर्वाचनमा अघिल्लोमा भन्दा २७ मत कम खसेको हो । अहिले साँझै राजनीतिक दलका प्रतिनिधि र प्रशासन प्रतिनिधिबीच बस्ने सर्वदलिय बैठक बस्ने तयारी भइरहेको बुझिएको छ । बैठकपछि मतगणना पनि आजै शुरु गरिने जनाइएको छ । मतगणनाका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । यसअघि मतपत्र च्यातिएको भन्दै कडा सुरक्षाका बिच मत गन्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कडा सुरक्षा घेरामा रहेर मतदाताले आज मतदान गरेका थिए । ३ वटा मतदान केन्द्रका लागि एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
गत जेठ १४ गते राती मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गर्न आदेश दिएको थियो । सर्वाेच्च अदालतले पनि आयोगको निर्णय सदर गरेपछि आज मतदान भएको हो ।