आर्थिक

साझा प्रकाशनलाई आर्थिक विवरण पेश गर्न लेखा समितिको निर्देशन

काठमाण्डौ, २० साउन । साझा प्रकाशनलाई सम्पूर्ण आर्थिक तथा प्रशासनिक विवरण पेश गर्न व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।
आज बसेको खेला समिति बैठकले आर्थिक अनियमितता भएको भनिएको साझा प्रकाशनलाई ५ दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको हो । साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्र शर्माले सरकारले उपलब्ध गराएको अनुदान तथा ऋण सहयोग रकमको चरम भ्रष्टाचार गरेको भन्ने समाचार सार्वजनिक भएसंगै समितिले आवश्यक अध्ययनका लागि सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको हो ।

बैठकले विगत ५ वर्षदेखिको खरिद बिक्रि, सम्पत्ती, उत्पादन, दायित्व, आय र व्यय लगायतका सम्पूर्ण विवरण ५ दिन भित्र समितिमा पेश गर्न निर्देशन दिएको छ । साझा प्रकाशनभित्र हुने सबै आर्थिक कारोबारको निर्णयको प्रक्रिया, ५ वर्ष देखि नियुक्त गरेका कर्मचारी र तीनको सेवा सुविधाको विवरण तथा शिक्षा मन्त्रालयबाट गठन गरिएको छानविन समितिको प्रतिवेदन पनि मगाउने समितिले निर्णय गरेको छ ।

लामो समयदेखि लेखापरीक्षण नगराउने संचालक समितिका सदस्य र जिम्मेवार पदाधिकारीको विवरण मगाउने निर्णय पनि बैठकले गरेको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए । यसअघि छलफलको क्रममा समिति सदस्यहरुले साझा प्रकाशमा लुटतन्त्र मौलाएको भन्दै छानविनका लागि सभापतिको गम्भीर ध्यानाकर्षण गराएका थिए ।