पु.समाचार

आयल निगमको जग्गा खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

काठमाण्डौ, २० साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारणका लागि खरिद गरेको जग्गामा अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेको छ ।
समितिको आज बसेको बैठकले निगमले विधि र प्रक्रिया मिचेको भन्दै अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ ।
आयल निगमले ७ प्रदेशमा तेल भण्डारणका लागि किनेको जग्गा खरिद प्रक्रियाको अध्ययन गर्दा झापा, चितवन र भैरहवामा सार्वजनिक जग्गा खरिद ऐन कार्यान्वयन नगरिएको, जग्गा खरिद गर्दा जग्गा प्राप्ति ऐन २०३४ लाई मिचेको लेखा समितिको ठहर छ । संसदको उपभोक्ता हित संरक्षण समितिले ७ प्रदेशमा इन्धन भण्डारणका लागि सार्वजनिक जग्गा खरिद गर्ने भनी दिएको निर्देशन विपरित निजी क्षेत्रको जग्गा खरिद गरेको पाइएको, जग्गा प्राप्ती ऐनलाई वेवास्ता गरी टेण्टर प्रक्रियामा गएको तथा चलनचल्तीको मुल्य भन्दा बढी रकम तिरेको लेखा समितिको ठहर छ ।
समितिले खरिद गरिएका जग्गाहरु वास्तविक जग्गाधनीहरुसँग नगरी एजेन्टमार्फत बोलपत्रको माध्यमबाट गर्दा कैयौं गुणा महंगो परेको पनि ठहर गरेको छ । जग्गा प्राप्तिको सरकारी कम्पनीको प्रक्रिया छलेर टेण्डरका क्रममा झण्डै १ अर्ब रुपैयाँ अनियमिता गरेको आरोप निगमका अधिकारीमाथि लागेको छ ।