अन्तर्राष्ट्रिय

७९ तला भएको विश्वकै ४० औं अग्लो भवनमा दोस्रो पटक आगलागि

काठमाण्डौ, २० साउन । दुबईको एक गगनचुम्बी भवनमा भिषण आगलागि भएको छ । गगनचुम्बी भवन टर्च टावरमा पछिल्लो दुई वर्षमा यो दोस्रो पटक आगो लागेको हो ।

सामाजिक सञ्जालहरुमा पोस्ट गरिएका तस्बिर तथा भिडियो फुटेजमा टावरको माथिल्लो तलासम्म आगोको मुस्लो देखिन्छ । टावरमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र आगो निभाइएको बिबिसीले जनाएको छ । विश्वकै अग्ला भवनहरु मध्ये पर्ने टर्च टावरमा आगलागीको कारण पत्ता लागेको छैन । सरकारी मिडियाले ट्वीट गर्दै आगलागीबाट कोही पनि घाइते नभएको खबर उल्लेख गरेको छ । अहिले आगलागीबाट तातेको टावरलाई चिसो बनाउने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।

सन् २०१५ मा आगलागी हुँदा टर्च टावरमा क्षति पुगेको थियो । ७९ तला भएको यो भवन विश्वकै ४० औं अग्लो भवन हो । २०११ देखि सञ्चालनमा आएको टर्च टावरमा ६७६ फ्ल्याट रहेका छन् । भवनको आठौं तलामा पार्किङ र स्विमिङ पुल रहेको जनाइएको छ । यो भवनमा दुई बेडरुम सहितको फ्ल्याटको मूल्य झण्डै पाँच करोड रहेको छ ।