समाचार

बागलुङमा पहिरो, ३ जनाको मृत्यु, ४ जना बेपत्ता

काठमाण्डौ । बागलुङको निसी खोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा पहिरो जादा ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।
घरमाथिबाट खसेको पहिरोमा परेर निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा दुईजनाको मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ । ६३ वर्षीया नन्दकली छन्त्याल र उनकी बुहारी २२ वर्षीया बिन्दु छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । छन्त्यालका श्रीमान् ६८ वर्षीय मणिमान छन्त्याल र १८ वर्षीया छोरी गीता छन्त्याल पहिरोमा बेपत्ता भएका छन् । घटनास्थलबाट शव निकाल्ने र बेपत्ताको खोजी कार्य जारी रहेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिएका छन् ।
यस्तै, पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको मृत्यु भएको छ । उनकी श्रीमती र छोरी सकुशल रहेको र छोरा सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार निसीखोला गाउँपालिका–१ हुल्दीमा पनि एक महिला पहिरोमा बेपत्ता भएकी छन् । लालबहादुर सिँजालीको ६५ वर्षीया आमा बेपत्ता भएकी प्रहरीले जनाएको छ । भीषण वर्षापछि गएराति बागलुङको ठाउँ–ठाउँमा गएको पहिरोले जनधनमा क्षति पुर्याएको हो ।