खेलकुद

राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा चारजना च्याम्पियन

काठमाडौँ । संरक्षकभूषण बज्राचार्य, प्रेरणा कोइराला, सम्यकभूषण र रायना शाह प्रथम एएनएलटीएरजेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार भएको खेलमा आआफ्नो स्पर्धामा च्याम्पियन बनेका संरक्षकले यु–१८ ब्वाइज सिंगल्स, प्रेरणा यु–१४ गल्र्स सिंगल्स, सम्यकले यु–१४ ब्वाइज सिंगल्स तथा रायनाले यु–१२ गल्र्स सिंगल्समा च्याम्पियन बनेका हुन् ।

यु–१८ ब्वाइज सिंगल्सको राउन्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा संरक्षकले निनवाम राईलाई ६–० र ६–० ले सहजै पराजित गरे । चार खेलाडी सहभागी उक्त स्पर्धामा संरक्षक सबै तीन प्रतिद्वन्द्वीलाई हराउन सफल भए । सो स्पर्धामा प्रणव खनालले साम्राज्ञ कटवाललाई ६–० र ६–० को सीधा सेटमा हराउँदै दोस्रो भए । उनले दुई खेलमा जित हात पारे । एक खेलमा विजयी साम्राज्ञ तेस्रो भए ।

यु–१४ गल्र्स सिंगल्सको फाइनलमा प्रेरणाले सलोनी तामाङलाई सिधा सेटमा ६–३ र ६–३ ले पाखा लगाइन् । प्रतिद्वन्द्वी आदित सुवेदीबाट फाइनलमा वाक ओभर पाएपछि सम्यकलाई भने उपाधि जित्न गाह्रो भएन । यु–१२ गल्र्स सिंगल्समा च्याम्पियन बनेकी रायनाले ईशाश्रीको चुनौती ६–४ र ६–० ले समाप्त पारिन् ।