पर्यटन/संस्कृति

बेतना सिमसारमा आन्तरिक पर्यटकको भिड

मोरङ, १९ साउन । उर्लाबारी–२ स्थित बेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

सिमसारमा जलयात्रा सेवा शुरु भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । बेतना सिमसार व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालका अनुसार यहाँ दुईवटा डुङ्गा सञ्चालनमा आएको छ ।

जलयात्राको मज्जा लिन यहाँ पुग्नेको सङ्ख्या दैनिक बढ्दो छ । बिदाको समयमा सिमसार घुम्न आउनेको संख्या अत्यधिक हुन्छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी–३, मंगलबारे चोकबाट करिब दुई किलोमिटर उत्तर चारकोशे जंगलभित्र सिमसार रहेको छ । यहाँ सडक सुविधा भएकाले सहजै पुग्न सकिन्छ ।

बेतना सामुदायिक वनको हाताभित्र उक्त सिमसार ५८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उर्लाबारी नगरपालिकाले हालै नगरलाई ‘सिमसारयुक्त पर्यटकीय नगर’ समेत घोषणा गरेको छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक ग्राभेललगायत कार्य गरिएको छ । बाल उद्यान निर्माणको क्रममा छ ।

यहाँ पोखरीको पश्चिम भागमा अवस्थित डाँडामा तीनवटा बाघको प्रतिमा राखिएको छ । सिमसार क्षेत्रमा पर्यटकलाई आकर्षण गर्न बाघको प्रतिमा राखिएको हो । उर्लाबारी नगरपालिकाको रु तीन लाख ५० हजार लागतमा सो प्रतिमा स्थापना गरिएको हो । उक्त प्रतिमा इटहरीका कलाकार विक्रमश्रीले निर्माण गर्का हुन् । बाघको प्रतिमा हेर्न र फोटो खिच्न पर्यटक आउने गरेका अध्यक्ष दाहाल बताउछन् ।

सिमसारलाई व्यवस्थित बनाउन प्रवेश शुल्क प्रतिव्यक्ति रु १० तोकिएको छ । यसको गुरुयोजना तयार भइसकेको छ । गत आर्थिक वर्षमा उर्लाबारी नगरपालिकाले रु १० लाख सिमसार व्यवस्थापन तथा रु १० लाख बाल उद्यानका लागि सहयोग गरेको थियो । चालु आवमा रु ५० लाख विनियोजन गरेको छ । यहाँ सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टार्इं, हाँडिफोर, बकुल्लालगायत चराचुरुङ्गी पाइन्छ । उक्त स्थान आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायत जीवजन्तु पाइन्छ ।