पु.समाचार

नारायणगढ-मुग्लिन सडकखण्डमा फेरि पहिरोले बस र जिप बगायो

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै बुधबार साँझ अबेर खसेको पहिरोले बगाएर एक यात्रुबाहक बस बेपत्ता भएको छ भने एटा जिप पुरिएको छ ।

मानवीय क्षति भने हुन पाएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौँबाट इलाम जान आउँदै गरेको ना ६ ख ७१२१ नम्बरको बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो भने बा १५ च ९३८१ नम्बरको स्करपियो जिपको अघिल्लो भाग पहिरोले पुरेको हो ।

माथिबाट ढुंगा खस्न थालेपछि चालकले बस रोकेर सबै यात्रु झारेलगत्तै ठूलो पहिरोले बसलाई त्रिशूलीमा झारेको हो । बसको पछिपछि रहेको स्करपियो रोकेर चालक भागेर बचेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिका–६ कालीखोला नजिकै साँझ ७स्३५ बजे पहिरो खसेको हो ।

पहिरो पन्छाउन साँझ मुग्लिनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी जाने क्रममा दुई किलोमिटरमा पुनः पहिरो खसेपछि रातमा पहिरो पन्छाउन नसकिएको थापाले बताउनुभयो ।

दुवै ठाउँको पहिरो पन्छाउने काम र बेपत्ता बसको खोजीकार्य बिहीबार बिहानै देखि शुरु भएको उनले बताए । पहिरो खसेका दुवै ठाउँमा लेदो बगिरहेकाले काममा कठिन भएको छ । स्तरोन्नति भइरहेको सो सडकको हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले निरीक्षण गरी छिटो काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।