पु.समाचार

२ नम्बर प्रदेश कस्को पोल्टामा ? दलहरुको दौडाहा, कुन पार्टीको तयारी कस्तो ?

काठमाण्डौ, १८ साउन । देशभर एकै पटक निर्वाचन गर्ने घोषणा भएको स्थानीय तह निर्वाचन अन्ततः अब दुई नम्बर प्रदेश अड्किएको छ । अरु ६ वटा प्रदेशको निर्वाचन दुई चरणमा गरेर सम्पन्न भएको छ । गाठो खोल्न यतिबेला सबै दल चुनाबमा जाने रणनीतिका साथ तयारी गर्दैछन् । पहिलो र दोस्रो चरणमा आएको चुनाबी परिणामलाई विश्लेषण गर्दै सबै जसो दल आफ्नो पकडमा मत कसरी ल्याउन सकिएला कसरतमा लागि सकेका छन् ।
हुन त पहिलो दोस्रो जस्तो तेस्रो चरणको चुनाव हुने २ नम्बर प्रदेशमा त्यति उत्साह छैन । तर पनि मुख्य दलहरुले चुनावी रणनीति तयार पारिसकेका छन् । मुख्य तीन दल एक अर्काेलाई उछिन्ने दाउमा छन् भने राष्ट्रिय जनता पार्टी नेपाल राजपा चाहिँ अझै अलमलमै छ ।
पहिलो र दोस्रो चरणमा भएको स्थानीय तह चुनावमा कांग्रेसको भन्दा ५० स्थानीय तह बढी जितेको एमाले २ नम्बर प्रदेशमा पनि आफैँ पहिलो हुने दावीका साथ तयारीमा जुटेको छ । ८ जिल्लामा रहेका १ सय २७ स्थानीय तहमध्ये अधिकांशमा आफूले जित्ने र पहिलो पार्टी यथावत रहने एमालेको दावी छ । २ नम्बर प्रदेशमा अहिले एमालेको गाउँ र नगर भेला भैरहेको र केही तहमा उम्मेदवारको टुंगो समेत लागेको एमालेले जनाएको छ । असोज २ को चुनावका लागि यो महिना भरमा उम्मेदवारको टुंगो लगाएर चुनावी प्रचारमा जुट्ने एमालेको तयारी छ । विभिन्न ठाउँको चुनावी सभामा एमालेले केन्द्रीय स्तरका नेतालाई सम्बोधनका लागि लैजाने पनि तयारी भएको सो पार्टीले जनाएको छ ।

संसदको पहिलो पार्टी पहिलो र दोस्रो चरणको चुनावबाट दोस्रो दलमा खुम्चिएपछि कांग्रेसभित्र नेतृत्वको चर्काे आलोचना भयो । तेस्रो चरण चुनावमा भने जसरी पनि धेरै भन्दा धेरै तहमा जित निकाल्ने र आफनो बिरासत फर्काउने कांग्रेसको योजना छ । कांग्रेसले मुख्य रुपमा चुनाबलाई केन्द्रित गरी मधेश केन्द्रित दलले उठाएको संविधान संशोधनको एजेण्डालाई संसदमा निर्णायार्थ पेश गर्ने जनाएको छ । यस्तै उसले चुनावमा योग्य र सबैलाई मान्य हुने उम्मेदवारलाई उठाउने तयारी गरेको जनाएको छ । तेस्रो चरण चुनाव हुने तराईका जिल्लाका विभिन्न ठाउँमा हुने सभालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने, नगर र गाउँपालिकामा युवालाई विशेष रुपमा चुनावी प्रचारमा खटाउने कांग्रेसको तयारी छ ।

दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी ‘हेडक्वार्टर’ नै मधेसमा राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत शीर्ष नेता निर्वाचन अवधिभर मधेसमा रहने गरी पार्टी ‘हेडक्वार्टर’ मधेसमै राख्न लागिएको हो । चुनाबलाई लक्षित गर्दै अध्यक्ष दाहाल, वरिष्ठ नेता श्रेष्ठ र थापालगायत नेता भदौ पहिलो सातादेखि मधेसमै केन्द्रित हुने भएका छन् । माओवादीले सोमबार जनकपुरमा गाउँ तथा नगरका नेता तथा कार्यक्रतालाई प्रशिक्षण दिँदैछ । प्रशिक्षणका लागि पार्टी अध्यक्ष प्रचण्ड जाने माओवादी केन्द्रले जनाएको छ । यो हप्ताभरमा माओवादी केन्द्रले १ सय २७ स्थानीय तहमा नै उम्मेदवारको टुंगो लगाउने र चुनावी प्रचारमा जुट्ने माओवादीको तयारी छ ।
चुनाव बहिष्कार गर्दै आएको राष्ट्रिय जनता पार्टी राजपाले दोस्रो चरण चुनावमा स्थानीय नेताहरुको स्वतन्त्र उम्मेदवारी पछि चुनावमा भाग लिनुपर्ने दवावले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । तर सरकारले संसदमा पेश गर्न लागेको संविधान संसोधन प्रस्ताव पछि मात्रै चुनावमा भाग लिने नलिने थाहा हुने राजपाको भनाइ छ । साउन २२ गतेदेखि बस्ने राजपाको केन्द्रीय समितिको बैठकले सबै कुराको समीक्षा गर्दै चुनावमा जाने वा बहिष्कार गर्नेबारे निर्णय गर्ने सो पार्टीले जनाएको छ ।