पु.समाचार

निर्वाचनको मिति घोषणा गर्ने आयोगको प्रस्तावमा सांसद सहमत

काठमाण्डौ, १८ साउन । निर्वाचन आयोगको निर्वाचन मिति घोषणा गर्न पाउनु पर्ने प्रस्तावमा सांसदहरुले सहमति जनाएका छन् । आगामी दिनमा निर्वाचनको मिति घोषणा गर्न पाउनु पर्यो भन्ने निर्वाचन आयोगको प्रस्तावमाथि अधिकांश सासदले सहमति जनाएका हुन् । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्छ भनी प्रस्ताव गरेका थिए ।
बैठकमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ माथि सैद्धान्तिक छलफल शुरु भएको छ । निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्ने अधिकार नहुँदा राजनीतिक दल र सरकारले मतदाताको मतदाता शिक्षाबारेको पुर्ण ज्ञान हुन नसक्ने सांसदहरुको भनाइ थियो । चुनाब गराउन आफ्नो पक्षमा मत छ÷छैन भनेर अन्दाज गरी मिति तोक्ने प्रवृत्तिले आवधिक निर्वाचन प्रभावित हुँदै आएको भनी मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्छ भन्नेमा सांसदले सकारात्मक धारणा राखेका थिए ।
त्यस्तै, निर्वाचनमा कुनै उम्मेदवारले बराबर मत ल्याएमा त्यहाँका जनताको मतलाई सम्मान गर्दै गोलाप्रथाका आधारमा कार्यकाल विभाजन गरी उम्मेदवारलाई न्याय दिने व्यवस्था गर्न पनि सांसदले सरकारलाई सुझाव दिएका छन् । हाल बराबर मत ल्याउने उम्मेदवारबीच गोलाप्रथाको आधारमा हार र जित हुने व्यवस्थाको अभ्यास हुँदै आएको छ ।
बैठकमा गृहमन्त्री जनार्दन शर्माले विधेयकको औचित्य, आवश्यकता र प्रत्यायोजित व्यवस्थापनको प्रावधानबारे समितिलाई जानकारी गराएका थिए । लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेर ल्याइएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले दिने निष्कर्षलाई हार्दिकताका साथ समेटिने उनको भनाइ थियो । आगामी दिनमा स्थानीय तह वा प्रतिनिधिसभाको निर्वाचन एकै मितिमा गर्ने गरी विधेयक ल्याउन पनि सांसदहरुले बैठकमा सरकारका प्रतिनिधिलाई सुझाव दिएका छन् । उक्त विधेयकमाथि परेको संशोधन प्रस्तावमाथिको छलफल भोलि पनि जारी रहने समितिले जनाएको छ ।