समाचार

११ औ पटक डा.गोविन्द केसी अनशनमा, माग कति भए पुरा, कति अधुरा

काठमाण्डौ, १८ साउन । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी अहिले ११ औ पटक अनशनमा छन् । विगतमा आफूसँग गरिएका अधिकांश सहमतिहरु कार्यान्वयन नभएको भन्दै सोमवारदेखि पुनः डा. केसी अनशनमा बसेका हुन् । चिकित्सा शिक्षामा देखिएका बेथिति अन्त्यको माग गर्दै डा. केसीले पहिलो पटक २०६९ साल असार २१ देखि २४ गतेसम्म चार दिन अनशन बसेका थिए । त्यसयता लगातार पटक पटक गरी १० औ पटकको अनशन उनले माग पुरा हुने शर्त र आश्वाशनमा तोडिसकेका छन् ।

डा. केसीका चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग गठन नभएसम्म सबै तहको शुल्क सरकारले निर्धारण गर्नुपर्ने माग लगायत अरु आफ्ना सुझाव पनि छन् । तिनै मागहरु उठाएर उनी अनशन बसेको यो ११ औ पटक हो । ११ औ पटकको अनशन बसीरहदा डा. केसीका माग केही पुरा भएका र केही पुरा हुने क्रममा रहेका शिक्षा मन्त्रालयका अधिकारीले प्रतिक्रिया दिएका छन् । तर डा केसीका समर्थक भने उपलब्धिलाई संस्थागत गर्ने, नीतिगत परिवर्तन ल्याउने जुन कुराहरु थिए त्यसमा कुनै प्रगति नभएको बताउछन् ।

सबैभन्दा ठूलो व्यवधान चिकित्सा शिक्षा ऐन अगाडि नबढ्नु नै रहेको भन्दै डा. केसीको समर्थनमा अरु चिकित्सकहरुले पनि ऐकवद्धता जनाएका छन् । यही व्यवधानका रुपमा देखिएको चिकित्सा शिक्षा ऐनलाई समग्र चिकित्सा शिक्षा सुधारका निम्ति एउटा महत्वपूर्ण पाटोको रुपमा डा. केसी र उनका समर्थकहरुले लिने गरेका छन् । भने हालसम्म संसद्बाट त्यो पारित नहुनुमा राजनीतिक दल र सरकारी पक्षको उपेक्षालाई उनीहरुले जिम्मेवार ठानेका छन् । तर सरकारी अधिकारीहरु सो आरोप निराधार रहेको बताउछन् । ऐन संसोधन गर्नु र नयाँ बनाइ कार्यान्वयनमा आउनु सामान्य कुरा नभएको भन्दै आजको भोलि हुन नसक्ने सरकारी अधिकारीहरुको प्रतिक्रिया छ । तर त्यसका लागि कानुनि जटिलतालाई छिचोल्दै प्रक्रिया भने अघि बढिरहेको उनीहरुको भनाइ छ ।

डा. केसीसँग सरकारले गरेको सहमति अनुसार अनुगमन समिति, न्यायिक समिति र पदाधिकारीको नियुक्तिका लागि मापदण्ड निर्धारण समिति गठन भइसकेको जनाइएको छ । प्रत्येक प्रदेशमा कम्तीमा एक÷एक वटा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने जस्ता माग पूरा हुन समय लाग्ने भएकोले त्यसलाई डा. केसीले पनि बुझिदिनुपर्ने सरकारी अधिकारीहरुको आग्रह छ । विगतका सहमतिभन्दा डा. केसीले कतिपय नयाँ माग थपिदिंदा पनि सम्बोधनमा समस्या हुने गरेको उनीहरुको गुनासो छ ।