राजनीति

राप्रपा अध्यक्ष थापाले लगाए काँग्रेस माथि आरोप

जनकपुरधाम, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

सो पार्टीको धनुषा जिल्ला कार्यसमितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकारसम्मेलनमा उनले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई आफ्नो दलले उच्च प्राथमिताका साथ तयारी गरिहेको छ भने । अध्यक्ष थापाले राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा सहभागी हुने वातावरणको निर्माण कार्य सरकार र प्रतिपक्षी दलले गर्नु जरुरी छ भन्दै नेपाली काँगेसले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुन नपाओस् भनी षडयन्त्र गरिरहेको आरोप लगाए ।

संविधान संशोधनको विधेयक संसद्मा निर्णायार्थ प्रस्तुत हुन नदिन नेपाली काँग्रेस नियोजित रूपमा लागेका छ भन्दै उनले संविधान संशोधन विधेयक पारित गराउने बारेमा आफ्ना दलका सांसदको अनुपस्थित प्रसङ्ग नेपाली काँग्रेस र माओवादी केन्द्रको प्रोपोगण्डा हो भने । एक प्रसङ्गमा उनले आफ्नो दल सरकारमा नजानेसँग संविधान संशोधन विधेयकको कुनै सरोकार छैन भन्दै देउवा नेतृत्वको सरकारमा आफ्नो दल नजाने प्रस्ट गरे ।

सबै दलका नेताको सम्पत्ति छानबिन हुनुपर्छः अध्यक्ष डा लोहनी
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजनीतिक दलले देशका संयन्त्रलाई भागबण्डा गरी सञ्चालन गरेका कारण छोटे राजाको उदय भइरहेको बताएका छन् ।

जनकपुरधाममा आज आयोजित पत्रकारसम्मेलनमा उनले सबै दलका नेताको सम्पत्ति छानबिनको खाँचो छ भने । समावेशी राज्यसत्ता नभएका कारण अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको छ भन्दै उनले राज्य संरचनामा समानुपातिक प्रतिनिधित्वको आवश्यकतामा जोड दिए ।

अध्यक्ष लोहनीले नेपालको सभ्यताको स्रोत भएको जनकपुरलाई सरकारले सधैँ उपेक्षा गरेका कारण जनकपुर भग्न सहर बनेको चर्चा गर्दै यसको मौलिक विशिष्टतालाई ध्यानमा राखी विकासका योजना कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।