समाचार

सुरु भयो चिनियाँ सामान नेपाल भित्रने क्रम

काठमाण्डौ, साउन १८ । दुइ हप्ता अघिदेखि रसुवागढीबाट आयात ठप्प भएको चिनियाँ सामग्री मंगलबारदेखि नेपाल भित्रन थालेको छ ।
सामान आयातनिर्यात गर्ने चिनियाँ भन्सार प्रतिनिधिले प्रतिटिप एक हजार ५ सय यूवान लिँदै आएकोमा लोड व्यवस्थापन गर्न एक्कासि भारी मात्रामा पुनरावलोकन गरी बढाएपछि दुई हप्ता अगाडिदेखि नेपाली व्यापारीले सामान उठाउन बन्द गरेका थिए । तर दुई हप्तापछि आयात निर्यात खुलाउन दुवै पक्ष वातापछि सहमत भएका छन् ।
वार्तामा प्रतिटिप दुई हजार ५ सय चिनियाँ यूवानमा काम गर्न सहमत भएपछि केरुङको पाङसिङबाट सामान लोड गरी नेपालतर्फ ल्याउने क्रम शुरु भएको हो । चिनियाँ नीति अनुसार भन्सार प्रतिनिधि मार्फत नै सामान लोड गराउनु पर्ने र सो अनुसार प्रतिट्रिप नेपाली रुपैयाँ चौबिस हजारबाट बढेर ४० हजार शुल्क पुगेको बताइएको छ । सहमति भएपश्चात अहिले केरुङको पाङसिङमा ३ सय ५० ट्रक कन्टेनरमा सामान लोड भइसकेको र ती सबै कन्टेनर क्रमशः रसुवागढी नाकाबाट नेपाल भित्रन थालेका छन् ।
चिनियाँ भन्सार प्रतिनिधिको शुल्क निर्धारणसम्बन्धी छलफलमा नेपाल र चीनका भन्सार प्रमुख, व्यापारी, व्यवसायी समेतको सहभागिता रहेको बताइएको छ ।