समाचार

झोला सिलाई र सिलाई कटाई तालिम सम्पन्न

काठमाडौँ । असहय बालबालिका तथा महिला उत्थान संघ र घरेलु विकास समितिको संयुक्त आयोजनामा झोला सिलाई र सिलाई कटाई तालिम मंगलबार सम्पन्न भएको छ ।
एक महिने झोला सिलाई र तीन महिने सिलाई कटाई तालिम समापनका अवसरमा तालिमका सहभागीलाई काठमाडौँ महानगरपालिका वडा नं ५ का नवनिर्वाचित अध्यक्ष रमेश डंगोललगायतका विशिष्ट व्यक्तिले प्रमाण पत्र वितरण गरेका थिए ।
दुबै तालिममा झण्डै ५० जना महिला सहभागी भएको आयोजकले बताएको छ ।
सो अवसरमा अध्यक्ष डंगोलले सो संस्थाले निरक्षर र असहय महिलालाई तालिमका माध्यमबाट शसक्तिकरण गरेकोमा प्रशंसा गर्दै सीप सिकेका महिलालाई सीपको उपयोग गरी आर्थिकोपार्जन गर्न सुझाव दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष विमला शर्माले शिक्षाले नै समाजलाई सभ्य र सम्पन्न बनाउने भन्दै आफू यस संस्थाका माध्यमबाट शिक्षाबाट बन्चित महिला र बालबालिकालाई शिक्षा र सीपको ज्योती छर्ने अभियानमा लागेको बताईन्. । संस्थाले यस अघि बेकरी सम्बन्धी तालिम सञ्चालन गरेको थियो ।
आगामी दिनमा तालिमको विविधिकरण गर्ने जानकारी गराउँदै अध्यक्ष शर्माले सीपका माध्ममबाट मात्रै महिला आर्थिक रुपमा आत्मनिर्भर हुने बताईन् । कार्यक्रममा संस्थाका सचिव डम्मरप्रसाद बस्नेतले संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाले हालसम्म गर्दै आएका कामका बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा नेपाली काँग्रेस सुनसरीकी नेतृ रेखा प्रसाई कौर, काठमाडौँ महानगरपालिका वडा नं ५ का सदस्यद्वय उत्तम शर्मा र मिनासिंह प्रजापति, नागरिक वडा मञ्चका अध्यक्ष सकुन्तला घिमिरेलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
विस २०५४ सालमा स्थापित उक्त संस्थाले हालसम्म झण्डै एक हजार जनालाई सीप तथा तालिममार्फत प्रशिक्षीत गरिसकेको छ ।