पु.समाचार

यी हुन् कांग्रेसभित्र एक्कासि उदाएका तीन प्रभावशाली नेता, जसले सिंगो पार्टीलाई हल्लाइदिन्छन् !

काठमाण्डौ । नेपालका अधिकांश ठुला दलहरुमा नेतृत्वका लागि आन्तारिक अन्तरविरोध चर्किरहेको देखिन्छ । केन्द्रीय नेतृत्वका लागि आन्तारिक अन्तरविरोध चर्किनु स्वाभाविक पनि हो । चाहे त्यो नेपाली कांग्रेसभित्र होस् वा चाहे नेकपा एमालेमा अर्थात माओवादी केन्द्र र अन्य पार्टीहरु सबैमा नेतृत्वको बहस चर्किरहेको छ ।

यसै सन्दर्भमा नेपालको प्रभावशाली पार्टीको रुपमा रहेको नेपाली कांग्रेसभित्र पछिल्लो समयमा एउटा नयाँ टिमको प्रार्दूभाव भएको छ । जुन टिमले सिंगो नेपाली कांग्रेसलाई राम्रोसँग प्रभाव पारिरहेको छ । यद्यपि, त्यसलाई टिम भन्दा पनि पछिल्लो समयमा उदाएका प्रभावशाली नेताहरु मात्र भन्दा हुन्छ । यो कुनै गुटगत समुह होइन तर पूर्ण रुपमा सिंगो नेपाली कांग्रेसलाई प्रभाव पार्न सक्ने नेताहरुको उदय हो ।

वास्तवमा यी नेताहरुको टिम पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकै वरिपरि चक्कर मार्ने गर्छन् । मुलुकलाई प्रभाव पार्ने खालको कुनै निर्णय गर्नुपरेमा प्रधानमन्त्री दाहालले सबैभन्दा पहिले उनीहरुको सल्लाह लिने गरेको श्रोतको दाबी छ । ती तीन नेताहरु हुन्, विमलेन्द्र निधि, बालकृष्ण खाँड र डा.प्रकाशशरण महत ।

पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षित परिणाम ल्याउन सकेन । पचास सिटले पछि पार्दै एमाले उभन्दा अघि रह्यो । उसले ६ प्रदेशमा २२६ सिट प्राप्त गर्यो भने एमालेले २७६ सिट प्राप्त गर्यो । त्यसैले अपेक्षित परिणाम आउन नसकेपछि यसबेला सभापति देउवा पार्टीभित्रै फरक समुहको निशानामा परिरहेका छन् । तर यो संकटमा प्रधानमन्त्री देउवालाई काँध थाप्न नेताहरु निधि,खाँड र महत लागिपरेका छन् । उनीहरु यसबेला पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीलाई पुगेको क्षतिलाई दुई नम्बर प्रदेशको चुनावबाट परिपूर्ति गरिनुपर्ने भन्दै तिव्र तयारीमा लागेको बुझिएको छ ।

यसकारण एक्कासि मधेसी नेतालाई पहिलो प्राथमिकता

केही दिनअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेता निधिले त दुई नम्बर प्रदेशबाट कांग्रेसले एकसय सिट ल्याउनुपर्ने तयारीका साथ जुट्नुपर्नेमा जोड दिए । उनको आफ्नै निर्वाचन क्षेत्र भएकोले पनि निधि त्यहाँ गम्भीर ढंगले लाग्नुभएको श्रोतले बताएको छ । नेपाली कांग्रेसले दुई नम्बर प्रदेशको जितलाई मध्यनजर गर्दै पछिल्लोपटक विस्तार गरेको मन्त्रिमण्डलमा समेत मधेसी नेताहरुलाई विशेष प्राथमिकतामा राखेको बताइएको छ ।

नेपाली कांग्रेसभित्र मधेसबाट उचाई लिएका नेताहरुमध्ये निधिनै अहिलेसम्मका प्रभावशाली नेताका रुपमा देखिन्छन् । उनले नै प्रधानमन्त्री देउवासमक्ष अहिले दुई नम्बर प्रदेशमा चुनाव जित्ने रणनीतिका साथ धनुषाका रामकृष्ण यादव र महेन्द्र यादवलाई मन्त्री बनाउन पहल गरेका थिए । त्यतिमात्र होइन बाराका फर्मुल्लाह मन्सुर पनि मन्त्री बनेका छन् । यी सबैलाई विशेष प्राथमिकतामा पार्दै सरकारमा सहभागिता गराउनुमा विमलेन्द्र निधि लगायतका नेताहरुको हात रहेको श्रोतको दाबी छ । यद्यपि, निधिले यसलाई चुनावी रणनीतिका रुपमा समेत लिएको बताइएको छ ।

वास्तवमा केही दिनअघि मन्त्रिपरिषद विस्तार गर्ने बेलामा नेपाली कांग्रेसभित्र देखिएको अस्तव्यस्ता के कारणले भएको थियो भन्ने कुरा यसै प्रसंगमा आएर जोडिन्छ । मन्त्री हुनका लागि तय भैसकेका नामहरु एक्कासि हटाए मधेसी नेताहरुलाई विशेष प्राथमिकता दिने कुरामा पहिलो हात नेताहरु निधि,खाँड र महतहरुकै रहेको बताइएको छ ।

प्रधानमन्त्री देउवाले यी नेताहरुले अघि सारेको यो रणनीतिलाई अन्तिममा काट्न नसकेको पनि श्रोतले बताएको छ । त्योभन्दा अघि प्रधानमन्त्री देउवा निर्वाचन जितेका र यसअघि अवसर नपाएका नेताहरुलाई मन्त्री बनाउने तयारी गरेका थिए । तर नेता निधिहरुले एक्कासि यस्तो प्रस्ताव ल्याएपछि उनले बाटो परिवर्तन गरेका थिए ।

जसका कारण मन्त्री बन्न लाइनमा लागेका थुप्रै नेताहरुले दौरा–सुरुवाल फुकाल्न बाध्य भएका थिए । यसबाट के पुष्टि हुन्छ भने नेपाली कांग्रेसमा यी तीन नेताहरुको प्रभाव यसबेला ह्वात्तै बढेको देखिन्छ ।

जसले पार्टीभित्र देखिएका पौडेल, सिटौला, कोइराला नेतृत्वमा रहेका र देखिन थालेका गुटगत समुहलाई समेत फिका बनाउने संकेत देखिन थालेको श्रोतले बताएको छ । यद्यपि निधि,खाँड र महत सभापति देउवासँग घनिष्ठ सम्बन्ध भएका नेताहरु हुन् । उनीहरुले चाल्ने हरेक कदम सिंगो नेपाली कांग्रेसको हितमा रहने गरेको बताउँदै आएका छन् ।