समाचार

‘हराएको जानकारी हुन्छ तर भेटिएको थाहा हुँदैन’

दाङ । यहाँबाट वर्षेनी चार सय बढी महिला तथा बालबालिका हराएको भनी प्रहरीमा निवेदन पर्ने गरेको छ ।

विगतको आर्थिक वर्ष २०७३/७४ मा पनि ४०४ जना बालबालिका हराएको भनी जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीमा निवेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार २६१ महिला, ७४ बालक र ६९ जना बालिका बेपत्ता भएको भनि निवेदन परेको छ । हराएका ४०४ जनामध्ये ११५ जना मात्रै फेला परेको प्रहरीले जनाएको छ ।

दुई सय ८९ जना महिला तथा बालबालिका बेपत्ताकै सूचीमा रहेको प्रहरी सहायक निरीक्षक नन्दकली कटुवालले जानकारी दिए ।

त्यसैगरी अघिल्लो आर्थिक वर्षमा पनि २२८ जना महिला तथा बालबालिका हराएको भनी सेवा केन्द्रमा निवेदन परेको थियो । हराएकामध्ये २८ जना महिला पाँच बालक र १४ जना बालिका गरी ३८ जना मात्रै भेटिएको तथ्यांक रहेको छ ।

बाँकी २९१ जना अझै फेला पर्न सकेको छैनन् । हराएको भनी प्रहरीमा उजुरी गर्ने तर भेटिएपछि सबैले प्रहरीलाई खबर नगर्दा हराउनेको सूचीमा नाम धेरै रहेको प्रहरीले जनाएको छ ।