राजनीति

नेपाली कांग्रेस र माओवादी बिच सहमति, जिल्ला समितिको चुनावमा तालमेल गर्ने

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्ने सहमति भएको छ । प्रदेश नम्बर २ को चुनावमा समेत तालमेल गरेर अघि बढ्न दुवै दल सहमत भएका छन् ।
कांग्रेसले चुनावी तालमेलका लागि गठन गरेको वार्ता समिति र माओवादी नेताहरुबीच चरणबद्ध रुपमा छलफलपछि जिल्ला समन्वय समितिमा कसैको बहुमत नभएका जिल्लामा दुई दलबीच तालमेल गर्ने सहमति भएको हो । तालमेलको शुरुवात ललितपुरबाट भएको र यो सबै जिल्ला र स्थानीय तहको २ नम्बर प्रदेशको चुनावसम्म कायम रहने वार्ता समिति सदस्य तथा कांग्रेस नेता रमेश लेखकले बताए ।

उनका अनुसार बाँकी जिल्लामा पनि तालमेल गरेर जिल्ला समन्वय समिति बनाउने सहमति भएको छ । ललितपुरमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख लिएर तालमेल भएको छ । पहिलो र दोस्रो चरणमा चुनाव भएका ६७ जिल्लामध्ये ३० जिल्लामा एमालेको एकल बहुमत छ । कांग्रेसको ९ जिल्लामा एकल बहुमत छ भने माओवादीको ३ जिल्लामा बहुमत छ । २५ जिल्लामा कसैको पनि बहुमत छैन । चुनाव भएका धेरै जिल्लाहरुमा कांग्रेस र एमालेको बराबरी मत संख्या हुँदा गोलाप्रथाबाट छान्नुपर्ने अवस्था छ । यस्तो अवस्था मनाङ, मुस्ताङ लगायतका जिल्लामा छ । पाँचथर, भोजपुर, सोलुखुम्बु, लगायतका जिल्लामा कांग्रेस माओवादी मिल्दा एमाले बराबर संख्या हुन्छ र त्यहाँ गोलाप्रथाबाट निर्णय गर्नुपर्ने हुन्छ । मोरङमा एमालेलाई प्रमुख दिएर माओवादीले उपप्रमुख लिने गरी फोरम र फोरम लोकतान्त्रिक सहितको तालमेल भइसकेको छ ।
जिल्ला समन्वय समिति गठनमा एमालेले आफ्नो बहुमत नभएका जिल्लामा माओवादी लगायतका साना दलहरुसँग स्थानीय स्तरमै तालमेल गरेर धमाधम नेतृत्व लिन थालेपछि कांग्रेसले केन्द्रीयस्तरमै माओवादीसँग सहमति गरेको हो ।
एमालेले यसअघि नै बाँकेमा फोरमसँग र कैलालीमा फोरम लोकान्त्रिकसँग मिलेर जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । दाङमा माओवादीसँग एमालेको तालमेल भएको छ ।
यदि दाङमा केन्द्रीय सहमति अनुसार माओवादी एमालेसँगको तालमेलबाट ब्याक भएमा जिल्ला समन्वय समितिमा एमाले र कांग्रेस माओवादी गठबन्धनको बराबरी मत हुनेछ । त्यसपछि त्यहाँ पनि गोलाप्रथाबाट टुंगो लगाउनुपर्ने हुन्छ । अनलाईन खबर मार्फत
तालमेलको सहमति गर्ने वार्ता टोलीमा कांग्रेसबाट बिमलेन्द्र निधी, रमेश लेखक र महेश आचार्य सदस्य छन् भने माओवादीबाट कृष्णवहादुर महरा र वर्षमान पुन छन् ।