समाचार

१८ अर्ब सकेको समाचार प्रकाशित भएको बिषयमा निर्बाचन आयोगले यस्तो भन्यो

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा २०७४ साल बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका जिल्लाहरूमा तथा दोस्रो चरणमा २०७४ साल असार १४ गते प्रदेश नम्वर १, ५ र ७ का जिल्लाहरूको गरी ६१७ स्थानीय तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण तरिकाबाट सम्पन्न गरिसकेको र हाल प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको तयारीमा जुटेको छ । यसका साथै आयोग आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीको काममा जुटिरहेको आयोगले जनाएको छ ।

नेपालको संविधानले निर्दिष्ट गरे अनुसार आयोगले निर्वाध रूपमा आफ्नो संवैधानिक दायित्व पूरा गर्न अहोरात्र खटिरहेको अवस्थामा केही सञ्चार माध्यमबाट आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई लक्षित गरी तथ्यहिन र भ्रामक समाचार प्रकाशन भएको प्रति आयोग गम्भिर भएको छ ।

२०७४ साल साउन ८ गतेको देशान्तर साप्ताहिकमा “निर्वाचन आयोगमा मामाको धनमा फुपुको श्राद्ध” शीर्षकमा तथा २०७४ साल साउन १५ गते सोही पत्रिकामा “निर्वाचन आयोगलाई १८ अर्व सक्नु पर्ने ?” शीर्षकमा तथ्यहिन, कपोलकल्पित र दुराशययुक्त समाचार सम्प्रेषण गरी आयोग प्रति आम जनतामा भ्रम सृजना गरी आयोगको गरिमालाई होच्याउने र आयोगले सम्पादन गरिरहेको कार्यमा वाधा अवरोध पुग्ने कार्य गरेको पाइएको हुँदा उपरोक्त मितिहरूमा सम्प्रेषित समाचार प्रति आयोग खेद प्रकट गर्दछ ।

साथै तथ्यमा आधारित भएर मात्र समाचार सम्प्रेषण गर्न सम्पूर्ण सञ्चार माध्यमलाई आयोग आग्रह गर्दछ ।