राजनीति

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच कुरा मिल्यो !

काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले अघि सारेको एउटा महत्वपूर्ण प्रस्तावको समर्थनमा प्रतिक्रिया दिएका छन् । शुक्रबार अपरान्ह तिब्बत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री देउवाले राख्नुभएको प्रदेश र संघी संसदको चुनाव एकैपटक गर्न सकिने प्रस्तावमा सहमति जनाएका हुन् ।

अध्यक्ष ओलीको यो प्रस्तावले सरकार र प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेकपा एमालेको एजेण्डा मिल्ने संकेत देखिएको छ । यद्यपि, अध्यक्ष ओलीले संविधान संशोधनको प्रस्ताव भने अहिले अघि बढाउने नमिल्ने कुरामा पुरानै अडान दोहोर्याएका छन् । यसले चुनावी एजेण्डामा कुरा मिलेपनि संशोधन प्रस्तावको विषयमा कुरा नमिल्ने संकेत भने यथावतै रहेको देखिन्छ ।

अध्यक्ष ओलीले माघ ७ गतेभित्र संघ र प्रदेशको चुनाव गर्न नसकिए संवैधानिक संकट आउने भएको त्यसका लागि तिव्र गतिमा काम अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

केही दिनअघि मात्र प्रधानमन्त्री देउवाले सिमित समय भएकोले दुई तहको निर्वाचन एकैपटक गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । त्यसको केही दिनपछि अध्यक्ष ओलीले पनि प्रधानमन्त्री देउवाले राखेको प्रस्तावझै समय सिमित भएकोले दुई तहको निर्वाचन एकैपटक राख्ने प्रस्ताव राख्नुले माघ ७ गतेभित्रै निर्वाचन सम्पन्न गर्ने तयारीलाई थप उर्जा मिलेको छ ।

दुवै नेताहरुको कुरा मिलेको देखिन्छ । यसले सरकार र प्रतिपक्षी दलबीच मिलेर जाने संकेत समेत देखिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले तेश्रो चरणको स्थानीय निर्वाचनमा राजपालाई समेत सँगै लिएर जानुपर्नेमा जोड दिएका थिए । उनले कांग्रेसले राजपालाई सँगै लिएर जानेमा आशंका व्यक्त गरे ।

तिब्बत भ्रमणको प्रसंग जोड्दै उनले आफ्नो नेतृत्वको सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गर्न चीन सरकार प्रतिबद्ध भएको समेत स्पष्ट पारे । रेल, सडक, तातोपानी नाका खोल्ने लगायतका विषयमा तिब्बत सरकारसँग गम्भीर कुराकानी गरेको समेत उनले स्पष्ट पारे । अध्यक्ष ओली एकहप्ता अघि कैलाश मानसरोबरको अवलोकन भ्रमणका लागि त्यसतर्फ गएका थिए ।