उर्जा

उर्जा विकासका लागि नयाँ उर्जामन्त्रीले सुनाए यस्ता योजना

काठमाण्डौ । नवनियुक्त उर्जामन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कार्यकालमा पनि लोडसेडिङमुक्त मुलुक बनाउन अभियान जारी रहने बताएका छन् । सरकारको उर्जामन्त्री नियुक्त भएलगत्तै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आफु सँधै चुनौतीपूर्ण काम गर्न रुचाउने जनाउँदै उनले आफ्नो कार्यकालमा विद्युत उत्पादन बढाउने र लोडसेडिङ हुन नदिने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । उनले भनेका छन्, ‘अब लोडसेडिङ हुँदैन, म आजकै दिनदेखि काम सुरु गर्छु । विद्युत भारलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा विद्युत प्राधिकरणसँग छलफल गर्देछु ।’

उर्जामन्त्री शाहीले जलविद्युतमा लगानी बढाउन सहज वातावरण निर्माण गर्दै लगानीलाई आकर्षित गर्ने समेत स्पष्ट पारेका छन् । उनले बुढी गण्डकी लगायतका आयोजनाहरुको विवादलाई समेत समाधान गर्न अधिक पहल गर्ने कुरामा जोड दिँदै कर्णाली क्षेत्रबाट समेत उर्जा विकासको अभियान सुरु गर्ने कुरा स्पष्ट पारेका छन् ।

उनले भने, ‘म आफै कर्णाली क्षेत्रबाट प्रतिनिधित्व गरेको व्यक्ति हुँ । त्यसैले त्यस क्षेत्रका जनताले केही अपेक्षा गरेका छन् । मैले कर्णाली क्षेत्रमा सम्भव भएसम्म जलविद्युत उत्पादनको योजना बनाएको छु । माथिल्लो कर्णाली, मुगु जलविद्युत, बहुउद्धेश्यी चिसापानी परियोजना लगायतका योजना अघि बढाउछु ।’