राजनीति

कांग्रेसमा रामचन्द्र पौडेल र सुजाता कोइरालाको नयाँ प्रस्ताव, लाखौं कार्यकर्ताहरुका लागि खुसीको खबर !

काठमाण्डौ । नेपाली कांग्रेसको तीनदेखि बसेको केन्द्रीय समिति बैठक सोमबार सकिएको छ । बैठक स्थानीय चुनावको समीक्षा, सरकार विस्तार, संविधान संशोधन लगायतका विषयहरुमा गम्भीर छलफल गर्दै समापन भएको हो ।  स्थानीय चुनावलगत्तै बसेको सो पार्टीको बैठकमा चुनावी समीक्षा मात्र भएन पाटीभित्रको नेतृत्वको सवालमा समेत गम्भीर समीक्षा भएको बताइएको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा चलिरहेको नेपाली कांग्रेसभित्र विभिन्न कोणबाट नेतृत्व विकासको सवालमा छलफल भएको बैठकमा सहभागी केही नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस आफैमा मुलुकको निकै लामो इतिहास बोकेको राजनीतिक पार्टी हो । जब पार्टीको इतिहास लामो हुने गर्छ, त्यसको नेतृत्वमा निकै पाको उमेरका नेताहहरु हुनु स्वभाविक पनि हो । नेपालका अन्य राजनीतिक दलहरुको तुलनामा कांग्रेसको नेतृत्व बुढा पुस्ताले गरिरहेको छ । बुढा पुस्ताले पार्टीको नेतृत्व गर्दा पार्टी कसरी अघि बढ्छ ? पार्टी संगठनको क्रियाकलाप कति गतिशिल हुन्छ ? बुढाहरुले मात्र नेतृत्वमा बसिरहने हो भने युवा नेताहरुले कहिले अवसर पाउने ? यी आदि विषयहरुमा कांग्रेसका प्राय सबै बैठकहरुमा कुरा उठ्ने गरेको छ । यो बैठकमा पनि यो विषयमा गम्भीर कुरा उठेको श्रोतले बताएको छ ।

बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले नै अब पार्टी नेतृत्वमा रहेका बुढा पुस्ताका नेताहरुले युवा नेताहरुलाई नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव राख्नुभएको श्रोतको दाबी छ । बैठकमा बरिष्ठ नेता पौडेलले अब पार्टी नेतृत्व युवाहरुलाई छाडिदिनुपर्ने बताउँदै सभापति देउवा र आफुले नेतृत्वका लागि युवाहरुलाई बाटो छाडिदिनुपर्ने प्रस्ताव राखेका थिए । नेता पौडेलले बैठकमा यस्तो प्रस्ताव राखेपछि सो प्रस्तावको पक्षमा धेरै नेताहरुले समर्थन जनाएको समेत बताइएको छ ।

पछिल्ला दिन कांग्रेसभित्र चुनावी परिणामको विषयलाई लिएर पार्टी असफल हुन लागेको भन्दै गम्भीर बहसहरु उठान भैरहेका छन् । स्थानीय चुनावमा कांग्रेसले अपेक्षित मतपरिणाम हासिल गर्न नसक्दा सभापति देउवाको नेतृत्वमा समेत प्रश्न उठिरहेको छ । यो सवालमा रामचन्द्र पौडेल पक्षले गम्भीर रुपमा विषय उठान गरी आन्तरिक भेलाहरुको समेत आयोजना गरिरहेको छ ।

उता,कोइराला परिवारका तीन प्रभावशाली नेताहरुले समेत पार्टी संकटमा फस्न लागेको भन्दै गम्भीर समीक्षा गरिरहेका खबरहरु बाहिर आइरहेका छन् । यसले एकातिर कांग्रेसभित्र पार्टी हाँक्ने नेतृत्वको विकल्पहरुको खोजी हुन लागेको संकेत दिएको छ भने अर्कोतिर युवा नेताहरु नेतृत्वमा पुग्ने सम्भावनाको ढोका खुल्ने संकेत देखिएको छ ।

युवाहरुलाई नेतृत्व हस्तान्तण गर्ने प्रस्ताव स्वागतयोग्य !
मुलुकको राजनीतिक परिस्थितिलाई सुक्ष्म ढंगले नियाल्ने हो भने अबको राजनीतिक व्यवस्थापनका लागि युवाहरुले नै मुलुकको कमाण्ड गर्नुपर्ने देखिन थालेको छ । अन्तर्राष्ट्रिय मुलुकहरुको अनुभवलाई हेर्दा पनि यो देख्न सकिन्छ । त्यसैले नेपालकै सबैभन्दा पुरानो र प्रभावशाली पार्टीको रुपमा रहेको कांग्रेसभित्र युवाहरुको नेतृत्व विकास र उनीहरुलाई अवसर दिनुपर्छ भन्ने कुरा उठ्नु स्वागतयोग्य कुरा हो । बरिष्ठ नेता पौडेलले उठान गर्नुभएको यो विषयलाई स्वागत गर्नुपर्छ ।

कांग्रेसभित्र दर्जनौ कुशल युवा नेताहरु रहेका छन् । कांग्रेस पार्टीभित्र कुन र कति उमेरका नेताहरुलाई युवा नेता भन्ने मापदण्ड नभएपनि सालाखाला ३५ देखि ६० नकटेका नेताहरुलाई युवा नेताहरुकै पंक्तिमा राख्न सकिन्छ, किनभने धेरै कलिलो उमेरका युवाहरुले पनि पार्टी नेतृत्व हाक्ने क्षमता राख्न सक्दैनन ।

त्यसैले उल्लेखित उमेर समुहभित्रबाट कांग्रेसको नेतृत्व हाक्न सक्ने थुप्रै नेताहरु स्थापित भैरहेका छन् । त्यसैले समयको मापदण्ड निर्धारण गरेर युवाहरुलाई पार्टी नेतृत्वको जिम्मेवारी दिए नेपाली कांग्रेस मुलुकको थप डाइनामिक पार्टीको रुपमा अघि आउन सक्ने कांग्रेसका नेता–कार्यकर्ताहरुनै बताउँछन् ।

महिला नेतृत्वको सवाल
कांग्रेसभित्र महिला नेतृत्व विकास र जिम्मेवारीको सवाल पनि गम्भीर रुपमा उठ्दै आएको छ । पार्टीकी प्रभावशाली नेतृ सुजाता कोइरालाले कांग्रेसभित्र महिलाले उपसभापतिको जिम्मेवारी पाउनुपर्ने माग उठान गरेकी छन् ।

उनले पार्टीभित्र उपसभापति र सरकारमा उपप्रधानमन्त्री महिला हुनुपर्नेमा जोड दिँदै अहिलेसम्म महिलाहरु उपेक्षित हुँदै आएको बताएकी छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ कोइरालाले कांग्रेसभित्र देखिएको गुट उपगुटका कारण पार्टी कमजोर बन्दै गएको दाबी गरिन् । नेतृ कोइरालाले उठाएको महिला नेतृत्वको सवाल र नेता पौडेलले उठाएको युवा नेतृत्वको सवालले कांग्रेसभित्र अब तत्काल नेतृत्व परिवर्तनको संकेत देखापर्दै गएको एकथरी विश्लेषकहरुको दाबी छ ।