समाचार

मंगलबार मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि प्रधानमन्त्री देउवा फेरि अर्को संकटमा फसे !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्ला दिन भएका कुराकानीलाई आधार मान्ने हो भने मंगलबार मन्त्रिपरिषद विस्तार हुने देखिएको छ । दुई नेताहरुबीच भएका पछिल्ला वार्तामार्फत कांग्रेस केन्द्रीय समिति बैठकलगत्तै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको थियो । सोमबार कांग्रेस केन्द्रीय समिति बैठक सकिएकोले सम्भवत मंगलबार प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्ने जनाइएको छ । तर यही बीचमा फेरि देउवा नेतृत्वको सरकारलाई संकट आइपर्ने संकेत देखापरेको छ ।

सरकारमा सहभागी भैसकेको फोरम लोकतान्त्रिकले यसअघि भएको सम्झौताअनुसार सम्मानजनक ढंगले मन्त्रालयहरु नपाए आफ्नो पार्टीले सरकारको बारेमा सोच्न बाध्य हुने भन्दै कडा चेतावनी दिएको छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहँदा फोरमले सो कुराको चेतावनी दिएको हो ।

यस्तो थियो सहमति !
फोरम लोकतान्त्रिकले अघिल्लो सरकारमा रहँदा पाएका मन्त्रालयहरु अहिले पनि पाउनुपर्ने माग राख्दै आएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्दा सो पार्टीले स्थानीय विकास, संस्कृति तथा पर्यटन र भूमी सुधार मन्त्रालय पाएको थियो । यो पटक पनि ती मन्त्रालयहरुले दिने तयारीका साथ सो पार्टीका अध्यक्ष विजयकुमार गच्छादारलाई सरकारमा सहभागी गराइएको थियो । तर पछिल्ला दिन सहमति गरिएका मन्त्रालयहरु सबै नपाउने संकेत पाएपछि फोरम लोकतान्त्रिकले आफुलाई त्यो कुरा मान्य नहुने बताउँदै आएको छ ।

उपप्रधानमन्त्री समेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले आफुहरुसँग सहमति भएअनुसारका मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी समेत दिएको श्रोतले बताएको छ । अध्यक्ष गच्छादारले सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर अघिल्लो सरकारमा पाएका मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको बताइएको छ ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत आफुहरुले सम्मानजनक ढंगले पाउनुपर्ने भनी केही समयअघि भएको सम्झौता अनुसारका ती मन्त्रालयहरु पाउनैपर्ने माग राखेको जनाइएको छ । प्रधानमन्त्री लगायत सत्तारुढ दलका नेताहरुले संस्कृति तथा पर्यटन मन्त्रालयचाहि फोरमलाई दिन नसक्ने जनाउ दिएपछि उपप्रधानमन्त्री गच्छादार भाँडिएको श्रोतको भनाई छ ।

सबै पक्षलाई मन्त्रालय बाँडफाँड गर्दा उक्त मन्त्रालय फोरमले पाउन नसक्ने प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गच्छादारसँग प्रस्ताव राखेका थिए । तर उनले सहमति भैसकेका मन्त्रालयहरुमा कुनै सम्झौता नहुने भन्दै त्यस्तो निर्णय गरे सरकार छाड्ने सम्मको धम्की दिएको बताइएको छ ।

यसले गर्दा मन्त्रिपरिषद विस्तारमा लागेका प्रधानमन्त्री र सिंगो सरकारमा समेत संकटमा पर्ने संकेत देखिएको छ । यद्यपि, यो विषयमा मंगलबारसम्म सहमति खोज्ने प्रयास भैरहेको श्रोतले बताएको छ । आफ्नो पार्टीभित्र समेत मन्त्रीहरुको विषयलाई लिएर लफडा चलिरहेका बेला फोरम लोकतान्त्रिकको यो अडानले प्रधनमन्त्री देउवा थप संकटमा फसेको बताइएको छ ।