पु.समाचार

अबदेखि कुहिएको खाद्यान्न वितरण नगर्ने डब्लुएफपीले जनतालाई दियो कमिटमेन्ट

गोरखा। विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरखाको उहिया र सिर्दिवासका बासिन्दालाई खान मिल्ने खाद्यान्न मात्रै वितरण गर्ने प्रतिबद्धता जनाएको छ । उहिया र सिर्दिवासको गोदाममा रहेका ५० बोरा खाद्यान्न (दाल, चामल) कुहिएको भेटिएको थियो ।

स्थानीय तह निर्वाचनको आचारसंहिताले गर्दा समयमै खाद्यान्न वितरण गर्न नसक्दा केही परिमाण खाद्यान्न बिग्रिएको भन्दै डब्लुएफपीको सञ्चार अधिकृत सीतास्मा थापाले राम्रो खाद्यान्न मात्रै वितरण गर्दै आएको दाबी गरेका छन्।

गोरखा सदरमुकाममा पत्रकारसम्मेलन गर्दै थापाले कुहिएको र भुसुना लागेको दाल, चामल स्थानीय बासिन्दालाई वितरण नगर्ने बताए । उनले भने, “सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा पानीले भिजेर केही बोरा खाद्यान्न बिग्रिएको छ । हामी राम्रो, खानयोग्य खाद्यान्न मात्रै बाँड्छौँ ।” यहाँ खच्चडबाट जेठमा खाद्यान्न ढुवानी गरिएको थियो ।

कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवासलगायत गाउँमा स्थानीयवासीले खाद्यान्न लिने गरी गोरेटो बाटो निर्माण गरेका थिए । जेठ महिनामा काम सके पनि साउन लागिसक्दा पनि खाद्यान्न वितरण नभएपछि स्थानीयवासी रुष्ट थिए । डब्लुएफपीले लुथरन वल्ड फ्रेडेरेसन (एलडब्लुएफ)सँग समन्वय गरी गोरेटो गोरखामार्फत काशीगाउँ, लाप्राक, उहिया, सिर्दिवास, गुम्दा गाउँमा ‘फुड फर वर्क’ कार्यक्रम लागू गरेको छ ।

उहियामा ४६ मेट्रिक टन र सिर्दिवासमा ५२ मेट्रिक टन खाद्यान्न भण्डारण गरिएकामा केही परिमाण खाद्यान्न कुहिएको सोमबार फेला परेको थियो । ४० दिन काममा हाजिर भएपछि प्रतिव्यक्ति १५० केजी चामल र २७ केजी दाल पाइन्छ । उहिया र सिर्दिवासमा गरी करिब ५० बोरा खाद्यान्न कुहिएपछि प्रतिव्यक्ति ७५ किलो चामल र नौ किलो दाल मात्रै वितरण गरेको उहियास्थित खोर्लाका जित गुरुङको भनाइ छ । अपुग खाद्यान्न दोस्रो चरणमा वितरण गर्ने तयारी रहेको भन्दै थापाले एक हजार १०० घरधुरीमा खाद्यान्न वितरण गर्न बाँकी रहेको जानकारी दिए ।