राजनीति

नेपाल प्रहरीभित्रको एउटा कामले देखायो प्रधानमन्त्री देउवा नेतृत्वको सरकार सफल हुने संकेत !

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिना पनि पुगेको छैन । सभापति देउवा प्रधानमन्त्री भएलगत्तै उनको नेतृत्वमा दोश्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भयो ।

चुनाव सम्पन्न गर्ने विषय सरकारको पहिलो प्राथमिकताको विषयमा थियो, त्यो अभियान सफलतापूर्वक सम्पन्न भएको छ । यद्यपि, दुई नम्बर प्रदेशमा असोज २ गते चुनाव हुने अर्को तयारी हुँदैछ ।

डेढ महिनाकै अवधिमा सरकारले चुनाव लगायत केही अन्य महत्वपूर्ण काम गरेको देखिन्छ । तीमध्ये सरकारले भर्खरै चालेको एउटा कदम र त्यसमा सक्रियता देखाउने गृहमन्त्री जनार्दन शर्माको क्रियाशीलतालाई पनि सबैले प्रशंसा गरिरहेका छन् ।

गृहमन्त्री जनार्दन शर्माले उक्त मन्त्रालयभित्र एकैचोटी ११ जना डिआइजीहरुको बढुवा गर्न सफल भएका छन् भने अघिल्ला तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइरालाले २ तहमा झारेको प्रहरीको अतिरिक्त महानिरिक्षक पदलाई ११ तहमा पुर्याएका छन् ।

अघिल्लो सोमबार बसेको मन्त्रिपरिषद बैठकले ११ जना डिआइजीहरुलाई एआएजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीमा बढुवा हुने ११ जना डिआइजीहरुमा जयबहादु्र चन्दलगायतका प्रहरी अफिसरहरु रहेका छन् ।

वास्तवमा प्रधानमन्त्री देउवा र गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीभित्रको प्रशासनिक व्यवस्थापन मिलाउन आमुल परिवर्तनको खाका समेत प्रस्तुत गरिसकेका छन् । खासगरी यसमा गृहमन्त्री शर्माले पहल लिइरहेका छन् ।

उनले गृहमन्त्री नियुक्त भएको केही दिनमै सो अभियान सार्वजनिक गरेका थिए । नेपाल प्रहरीभित्र आमूल परिवर्तन ल्याउन उनले प्रहरी जवानदेखि माथिल्लो स्तरका अफिसरहरुबीच देखिएको समस्यामा समेत केन्द्रीत भएर आफ्नो अवधारणापत्र सार्वजनिक गरेका थिए ।

जसमा प्रधामनन्त्री देउवाको समेत साथ रहेको बताइन्छ । त्यतिमात्र होइन, गृहमन्त्री शर्माले प्रहरी संरचाभित्र केही डिएसपी,एसपी र एसएसपीहरुको समेत बढुवा गरेको र गर्ने तयारी गरिरहेको बताइन्छ ।

यसले देउवा नेतृत्वको सरकारमा सुरु गरिएको एउटा उदाहरणीय कामको झल्को दिएको देखिन्छ । यद्यपि, गृहमन्त्री शर्माले चालेका केही कदमहरु भने व्यक्तिगत र पार्टीगत स्वार्थसँग जोडिएर भएका भन्दै आलोचनाहरु समेत भैरहेका छन् । तर गृहमन्त्री शर्माले चालेका प्रहरी संरचनाभित्रको आमुल परिवर्तनको अभियानले यसलाई ओझेल पारिदिएको छ ।

गृहमन्त्री शर्माजस्ता केही मन्त्रीहरु भए प्रधानमन्त्री देउवा नेतृत्वको सरकार सफल हुने संकेत देखिएको छ । यद्यपि, तत्काल आइपरेका समस्यामा प्रधानमन्त्री देउवाले दिएका निर्देशनहरु पनि निकै प्रशंसनीय छन् । उदारहणका लागि काठमाण्डौमा देखिएको सडकको अव्यवस्थापन र ज्यानमारा भ्वाङहरु तत्काल पुर्न प्रधानमन्त्रीले केही दिनअघि निर्देशन दिएका थिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले अझै पूर्णता पाएको छैन । सरकारले पूर्णता नपाउँदै गरिएका यी कामहरु उदाहरणीय छन् । केही मन्त्रीहरुको साथ पाएर करिब डेढ महिनाकै अवधिमा गरिएका यी कामबाट देउवा सरकार सफल भएको प्रमाणित हुन्छ । यद्यपि, सरकारको सफलताको मापन गर्ने बेला अहिले सुरुमै हुन सक्दैन ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले अझै धेरै कामहरु गर्न बाँकी छ । स्थानीय तहकै तेश्रो चरणको चुनाव, प्रदेश र संघीय संसदको चुनाव समेत यही सरकारले सम्पन्न गर्नुपर्ने भएकोले केही दिनको आंशिक काममार्फत सफलताको मापन गर्न सकिदैन तर संकेत भने राम्रो देखिएको छ । यद्यपि, प्रधानमन्त्री देउवाले बुधबारसम्म फेरि एकपटक मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

जसमा सबैभन्दा बढी नेपाली कांग्रेस र माओवादी केन्द्रका मन्त्रीहरु हुने छन् । अन्य केही साना दलहरुबाट पनि सरकारमा प्रतिनिधित्व हुने तयारी भैरहेको छ । अब हुने तिनै मन्त्रीहरुको काम कार्वाहीमा देउवा नेतृत्वको सरकारको भविष्य र सफलता निर्भर हुने अनुमान गर्न सकिन्छ ।