राजनीति

कांग्रेसभित्र पार्टी नेतृत्व कसरी असफल भयो ? एकाबिहानै रामचन्द्र पौडेले दिए दुःखद संकेत !

काठमाण्डौ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडलले स्थानीय तहको चुनावमा पार्टी नेतृत्व असफल भएको आरोप लगाएका छन् । आइतबार बिहान सुर्यखबर डटकमसँगको कुराकानीका क्रममा उनले सो आरोप लगाएका हुन् ।  चुनावमा पार्टी नेतृत्व फेल भएपछि अहिले सभापति शेरबहादुर देउवा पक्षले चुनावी समीक्षा गर्न समेत नमानेको उनले आरोप लगाए । नेता पौडेलले भने, ‘हामी महासमिति बैठक बोलाएर चुनावी समीक्षा गरेर जाऔं भनिरहेका छौ, उहाँहरुले मानिरहनुभएको छैन । यो सवालमा पार्टीभित्रका धेरै साथीहरु अब पार्टी बचाएर जाऔं भन्ने कुरामा सहमत हुनुहुन्छ र हाम्रो आवाजमा साथ दिइरहनुभएको छ ।’

पार्टीले स्थानीय चुनावको समीक्षा नगरी अघि बढे भोलीका लागि समेत त्यो प्रत्युउत्पादक हुने उनले बताए ।  तपाईहरुले उठाउनुभएको महासमिति बैठकको कुरामा सभापति देउवा पक्षले बेवास्ता गरे आगामी चुनावमा कस्तो प्रभाव पर्ला ? भन्ने प्रश्नमा पौडेलले दुःखद संकेत दिदै भने, ‘त्यसको प्रभाव आसोज २ गते र त्यस पछिका चुनावहरुमा पनि पर्छ, यसमा हामी पार्टी बचाउने सबै नेता कार्यकर्ताहरुले एक भएर गम्भीर समीक्षा गर्नैपर्छ ।’

नेता पौडेलले सरकारमा समावेश हुने कुरामा समेत पार्टीभित्र कुराकानी भैरहेको बताए । उनले भने, ‘यसमा कुरा मिल्न लागेको छ, तर संस्थापन पक्षको एकलौटी काम गरेको संकेत भने देखिएका छन्, यस्ता कुरा पार्टीमा हुनु स्वाभाविक पनि हुन्, तर अब पार्टी बचाउने हो भने एक पक्ष र अर्को पक्ष भनेर काम गर्न हुँदैन ।’

कुराकानीका क्रममा संविधान संशोधनको विषयबारे प्रसंग कोट्याउँदै पौडेलले सबैलाई साथ लिएर मात्र यो मुद्धा अघि बढाउने निर्णय भएकोले अहिलेलाई थाती राखेको स्पष्ट पारे । उनले भने, ‘राजपाका अध्यक्ष महन्थ ठाकुरजीहरुले पनि संशोधन प्रस्ताव फेल हुने गरीचाहि नलैजाउ भन्ने कुरामा सहमति जनाउनुभएको छ, त्यसैले यो प्रस्तावलाई हामीले तत्कालका लागि स्थगित गरेका हौ ।’ पौडेलले सबै पार्टीहरु बीचमा कुरा मिलाएर मात्र यो विषय टुंग्याउने सहमति भएको स्पष्ट पारे ।

सत्तारुढ दलहरुले संशोधन प्रस्तावमा एमालेले कडा अडान लिएपछि अहिले तत्कालका लागि संविधान संशोधन प्रस्ताव थाती राखेर सरकार निर्माण गर्ने तयारी गरिरहेका छन् । उता,नेपाली कांग्रेसभित्र स्थानीय तहको चुनावपछि पौडेल पक्षधरले तत्काल महासमिति बैठक बोलाएर चुनावी समिक्षा गर्नु माग गर्दै आएको छ । संस्थापन पक्षले यो कुरामा बेवास्ता गरेको भन्दै पौडेल पक्षले आन्तारिक भेलाको समेत आयोजना गरिरहेको छ ।