आर्थिक

सहकारी आर्थिक विकासको मेरुदण्ड – प्रधानमन्त्री देउवा

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी आर्थिक विकासको मेरुदण्ड भएको धारणा राखेका छन् । राष्ट्रिय सहकारी विकास बोर्डको नवनिर्मित आधुनिक भवनको यहाँ आज उद्घाटन गर्दै उनले ‘जहाँ अवसर त्यहाँ चुनौती’ भएजस्तै सहकारीको मर्यादित विकास आजको आवश्यकता रहेको औँल्याए ।

प्रधानमन्त्री देउवाले सहकारी क्षेत्रको विकासमा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको योगदानको चर्चा गर्दै उनको प्रधानमन्त्रीत्वकालमा विसं २०१६ मा पहिलो सहकारी ऐन आएको बताए ।
रु १६ करोड ६६ लाख ५४ हजारको लागतमा बनेको उक्त भवन सात तले रहेको छ र एक रोपनी क्षेत्रफलमा छ ।

टेलिभिजन तथा रेडियो स्टेशन, तालीम तथा सभाहलसहित अत्याधुनिक सो भवनलाई सहकारीकर्मीले गौरवका रुपमा लिएका छन् । कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको संविधानले सहकारी क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको बताए ।

नेपालको पहिलो सहकारी संस्था चितवनको बहानसिंह सहकारी संस्थाको स्थापना विसं २०१३ चैत २० गते भएको हो । सहकारी विभागका अनुसार विसं २०७३ असार मसान्तसम्म ३३ हजार ५९९ सहकारी दर्ता भएका छन् । उक्त सहकारीमा रु ६० लाख ३० हजार ८५७ सदस्य आबद्ध छन् ।
कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, पूर्वमन्त्री बालकृष्ण खाँण, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, राष्ट्रिय सहकारी बोर्डका पूर्वअध्यक्ष दीपकप्रकाश बास्कोटालगायतले नेपालमा सहकारीको भूमिका र विकासका बारेमा धारणा खेका थिए।