समाचार

वर्षा लाग्नासाथ सुत्नै पाउँदैनन् तिलाठीबासी !

सप्तरी । वर्षा लाग्नासाथ तिलाठीवासीको निद्रा खोसिन्छ । सप्तरीमा टन्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने गर्छ । तिलाठी क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । बाढीबाट बर्सेनि ठूलो क्षति हुन्छ ।

सरकारले केही राहत दिने घोषणा पनि गर्छ तर स्थायी समाधान कहिल्यै हुँदैन । थोरै-थोरै राहतभन्दा स्थायी रूपमै बाढी रोक्ने उपाय गरिदिन तिलाठीवासीले सरकारसँग माग गरेका छन् । औषधोपचार र खानेकुरा किन्न दैनिक बजार निस्कनुपर्छु, स्थानीय सीतादेवी यादवले भने, बाढी आएका बेला कसरी जानु ?

अर्का स्थानीय विनोदकुमार यादवले यो समस्या वर्षौं पहिलेदेखि रहेको भन्दै सरकारले वास्ता नगरेको गुनासो गरे । अब यसको स्थायी समाधान चाहियोु, उनले भने ।तिलाठी डुब्नुको एउटै कारण हो, खाँडो नदी । भारतीय पक्षले बहाव रोक्ने प्रयास गरेपछि यो नदी नेपाली भूमि हुँदै दक्षिण भेगतिर बग्छ ।

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ। भारतीय पक्षले बाँध बाँधेर खाँडोको पुरानो बहाव परिवर्तन गरेपछि तिलाठी डुब्न थालेको हो । यसको स्थायी समाधानका लागि दुई देश (भारत र नेपाल) बीच तिलाठीलाई भलुवाही खोलामा खसालेर बहाव नियन्त्रण गर्ने सहमति भएको थियो ।