पु.समाचार

अस्ताए नेपाली कांग्रेसका एक हस्ती !

काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेता रामहरि जोशीको ९३ वर्षको उमेरमा निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार साँझ निधन भएको हो । जोशी पछिल्लो समयमा सर्भिस फर पिसका केन्द्रीय अध्यक्ष थिए।

स्थ्यमा समस्या देखिएपछि अल्का अस्पताल भर्ना भएका जोशीको एक सातादेखि ग्रान्डीमा उपचार भइरहेको थियो। २००७ सालको जनक्रान्तिका साक्षी जोशी नेपाली कांग्रेसका जीवित इतिहास थिए। उनका समकालीन नेताहरुको देहान्तपछि कांग्रेसको स्थापना कालदेखिको आरोहअवरोहका साक्षी थोरै मध्ये जोशी मात्र बाँकी थिए।

सन् १९४७ (वि.स २००३) मा कोलकातामा भएको नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाकालदेखि उनी कांग्रेसको राजनीतिमा सक्रिय थिए। पार्टीको नवौं र दशौं महाधिवेशनमा पार्टी सभापतिमै उम्मेवारी दिएका र १२ औं महाधिवेशनसम्म सक्रिय सहभागी जोशी १३औ महाधिवेशनमा पनि सहभागी थिए।

सर्लाही स्थायी घर भएका जोशीले अविवाहित थिए। केही समय सर्लाहिमा शिक्षण पेसमा संलग्न उनले आफ्नो सम्पूर्ण जीवन कांग्रेस र लोकतान्त्रिक व्यवस्थाका लागि समर्पित गरे। सर्लाहीमा २००४ सालमा पब्लिक मावि स्थापना गरेर जोशी हेडमास्टर बनेका थिए।