राजनीति

कांग्रेसभित्र देखियो एक्कासि यस्तो खतराको संकेत, सभापति देउवाले अब के गर्लान ?

काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नेपाली कांग्रेसभित्र गडबड सुरु भएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले चुनावी परिणामको समीक्षा गर्ने कुरामा आलटाल गर्न लागेपछि त्यस्तो संकेत देखापरेको हो ।  चुनाव सकिएलगत्तै विशेषगरी  रामचन्द्र पौडेल समुहले संस्थापन पक्ष चुनावमा असफल भएको भन्दै गुटगट भेलाको तयारीमा लागेका छन् ।

कांग्रेसभित्र यसबेला संस्थापन पक्षलाई पैसाको चलखेलमा राजनीति गर्ने पक्ष र पौडेल पक्षलाई सैद्धान्तिक र वीपीको अनुयायीको रुपमा मुल्यांकन गरेर बहस सुरु हुन थालेको छ । चुनावमा पनि यी दुई धारबीच जित हार भएको भन्दै यसबेला पार्टी भित्र र बाहिर बहस हुनुले कांग्रेसमा निकै गम्भीर राजनीतिक गडबडी सुरु भएको श्रोतले बताएको छ ।

मंगलबारदेखिनै रामचन्द्र पौडेल पक्षले ललितपुरबाट आफ्नो गुटगत भेलाको आयोजना गर्न सुरु गरेको छ । चुनावमा पार्टीले सेटब्याक खाएपछि संस्थापन पक्षले त्यसको जस लिन नचाहेको भन्दै तत्काल चुनावको समीक्षा गर्नुपर्ने सो समुहको माग छ ।

ललितपुरमा आयोजित चुनावी समिक्षा तथा दबाव अभियान सबै जिल्लामा पुर्यााइने पौडेल निकट स्रोतले जनाएको छ । ललितपुरको भेलामा जिल्लाका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य सहितका अगुवा नेताहरु सहभागी थिए ।

भेलालाई रामचन्द्र पौडेल र प्रकाशमान सिंहले सम्बोधन गरेको स्रोतले जनाएको छ । पौडेलले देउवाको नेतृत्वमा कांग्रेस ओह्रालो लागेको र अबका चुनावहरुमा पनि एमालेले कांग्रेसलाई पछि पार्ने खतरा देखिएकाले बेलैमा नेतृत्वलाई दबाब दिन कार्यकर्तालाई आह्वान गरेका छन् ।

पौडेलको यो अभियानको मुख्य उद्देश्य चुनावी समिक्षा, महासमिति बैठक बोलाउने र देउवालाई दबाव दिने उद्देश्यबाट चलाइएको हो । कांग्रेसको बिधान अनुसार प्रत्येक वर्ष बोलाउनुपर्ने महासमिति बैठक देउवाले टार्दै आएको आरोप लागेको छ ।

देउवा पक्षले तत्काल यी कुरामा ध्यान नदिए आफुहरुले गम्भीर कदम चाल्ने चेतावनी पौडेलले दिएका छन् । यसबाट के प्रस्ट हुन्छ भने स्थानीय चुनावको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गम्भीर बहस पैदा भएको छ । चुनावमा पार्टीभित्रै बाट भएको गम्भीर अन्तरघात, टिकट वितरणमा इमान्दार कार्यकर्तामाथि भएको विभेद लगायतका विषयहरुमा अहिले कांग्रेसभित्र चर्को विवाद देखिएको छ ।

सरकारको नेतृत्व समेत गरिरहेका पार्टी सभापति देउवामाथि यी गम्भीर चुनौतीहरुको सामना गर्ने चुनौती काँधमा आएको छ । पार्टीभित्रका अधिकाँश नेता कार्यकर्ताहरुले सभापति देउवाले यसलाई निकै गम्भीर रुपमा नलिए पार्टी सञ्चालनमा त्यसको प्रभाव गम्भी रुपमा पर्ने र पार्टीको अस्तित्वमाथि नै प्रश्नचिहन खडा हुने बताइरहेका छन् ।