आर्थिक

औद्योगिक ऐनलाई चाँडो कार्यान्वयन गर्न नियमावली बनाउनुपर्ने अायाे सुझाव

काठमाडौँ । औद्योगिक व्यवसायी ऐनलाई कार्यान्वयनमा ल्याउन चाँडो नियमावली बनाउन सांसदहरुले उद्योग मन्त्रालयलाई सुझाव दिएका छन् ।

व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत रहेको प्रतिवेदन एवम् निर्णय कार्यान्वयन अनुगमन उपसमितिले उद्योग मन्त्रालयका सचिवसहितको टोलीलाई मुलुकको औद्योगिक विकासका लागि नियमावली चाँडो निर्माण गर्न सुझाव दिएको हो ।

उपसमिति संयोजक लीला श्रेष्ठले उद्योग क्षेत्रको विकासका लागि बनेको औद्योगिक व्यावसायिक ऐन, विशेष आर्थिक क्षेत्र (सेज) ऐनलगायतलाई नियमावली बनाएर यथाशक्य चाँडो कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

बैठकमा सांसद चन्द्र महर्जनले समितिले विभिन्न समयमा दिएका निर्देशन उद्योग मन्त्रालयले पालना नगरेको बताए । उनले भने, “बेरोजगार युवालाई रोजगार सिर्जना गर्ने कुरामा उद्योग मन्त्रालय गम्भीर भएन ।” सांसद राज्यलक्ष्मी श्रेष्ठले उद्योग क्षेत्र देशको आर्थिक विकासको मुख्य क्षेत्र भएकाले उद्योग क्षेत्रको काम तीव्र गतिमा गर्नुपर्ने बताए ।

सांसद जनकबहादुर बुढाले औद्योगिक व्यवसायसम्बन्धी नियमावली बनाउन ढिला हुँदा उद्योगसम्बन्धी धेरै काम रोकिने भन्दै चाँडो बनाउनुपर्ने बताए । उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले समितिले दिएका निर्देशनमध्ये केही निर्देशन पालना भइसकेका र केही पालना गर्न बाँकी रहेको स्वीकार गरे।

उनले औद्योगिक व्यावसायिक ऐन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन आइसकेकाले सेज ऐनको नियमावली निर्माण भएका साथै औद्योगिक व्यावसायिक ऐनको नियमावली बनाउने कार्य ६० प्रतिशत सम्पन्न भइसकेको जानकारी गराए ।

यस्तै उनले आर्थिक विकासका लागि सात प्रदेशमा निर्माण गर्न लागेको आर्थिक क्षेत्र निर्माणको काम अगाडि बढिसकेको समेत प्रष्ट पारे।