विशेष

कांग्रेसभित्र किन उठ्यो एक्कासि यस्तो गम्भीर बहस ? रामचन्द्र पौडेलको भाग्य चम्किने संकेत !

काठमाण्डौ । पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भए लगत्तै ठूला दलहरुको हैसियतमा परिवर्तन आएको छ । मुलुककै सबैभन्दा ठूला दलको रुपमा रहेको नेपाली कांग्रेस दोश्रो स्थानमा झरेको छ भने नेकपा एमाले पहिलो स्थानमा पुगेको छ ।

पहिलो चरणको निर्वाचनमा आफ्नो पक्षमा जनमत खस्केको देखेको कांग्रेसले दोश्रो चरणको निर्वाचनमा भने आफ्नो पक्षमा जनमत आउने अपेक्षा गरेको थियो तर परिणाम त्यस्तो आएन ।

स्थानीय चुनावमा परिणाम खस्किएपछि अहिले कांग्रेसभित्र प्राप्त चुनावी परिणाम र पार्टीले लिएको तत्कालीन कार्यनीतिका विषयमा बहस सुरु भएको छ ।

पार्टीले लिएको चुनावी रणनीति कसरी फेल भयो ? यसमा पार्टी नेतृत्व र कार्यकर्ताको कति दोष छ ? पार्टीभित्रै भएको अन्तरघातले मात्रै मतपरिणाम खस्केको हो ? के नेपाली कांग्रेसले लिएको चुनावी रणनीति फेल भएको हो ? माओवादी केन्द्रसँगको चुनावी तालमेलले गर्दा यस्तो परिणाम आएको हो त ? यी आदि प्रश्नहरुबारे अहिले नेपाली कांग्रेसभित्र व्यापक बहस भैरहेको छ ।

वास्तवमा दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेसले सोचेजस्तो परिणाम नआएकै हो । ७ नम्बर प्रदेशमा सबैभन्दा बढी जनमत प्राप्त गर्ने कांग्रेसको अपेक्षामा तुषारापात लागेको छ ।

७ नम्बर प्रदेशमा अपेक्षा गरिएको भन्दा १ र ५ नम्बर प्रदेशमा कांग्रेसले राम्रो जनमत पाएको देखिन्छ । यो परिणामले कांग्रेसको नेतृत्व पंक्तिलाई छुट्याईदिएको छ । ७ नम्बर प्रदेश पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र पनि हो ।

त्यहाँ कांग्रेसले धक्का खाएको छ । १ र ५ नम्बर प्रदेश कांग्रेसका दोश्रो तहका नेताहरुको क्षेत्र रहेको देखिन्छ । त्यसमा पनि पार्टीभित्रका विभिन्न समुहका नेताहरुले यी क्षेत्रमा पक्कड जमाएको देखिन्छ । त्यसकारण पनि चुनावी परिणाममा उत्तारचढाव आएको जानकारहरु बताउँछन् ।

दोश्रो चरणको चुनाव सम्पन्न भएलगत्तै कांग्रेसभित्र अर्को राजनीतिक समीकरणको संकेत देखापरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको पार्टीले चुनावमा नकारात्मक परिणाम ल्याएपछि पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल लोकप्रिय हुने संकेत देखिएको छ ।

यो स्वभाविक पनि हो । देउवा पछिका बरिष्ठ नेताका रुपमा रहेका पौडेलले विभिन्न कार्यक्रमहरुमा चुनावमा पार्टी फेल हुनुको कारण नेतृत्व भएका संकेतहरु दिन थालेका छन् ।

आइतबार कास्कीमा आयोजित जनप्रतिनिधिहरुसँगको भेटघाट कार्यक्रममा समेत उनले जनमतले कांग्रेसको विकल्प खोजेको देखाए पनि कांग्रेस कार्यकर्ता र नेताहरुले भने कांग्रेसको विकल्पमा कांग्रेस नै भएको कुरा देखाएर पुष्टि गर्नुपर्नेमा जोड दिए । नेता पौडेलको यो भनाईमा गम्भीर अर्थ लुकेको देखिन्छ ।

उनले चुनावमा कांग्रेसको एउटा चरणको नेतृत्व फेल भएपनि अर्को नेतृत्व पार्टी चलाउन तयार छ भन्ने संकेत दिन खोजेको देखिन्छ । उनले त्यसका लागि आम कार्यकर्ताहरुलाई तयार भएर रहन समेत निर्देशन दिएका छन् ।

वास्तवमा कांग्रेसभित्र एउटा पक्ष वीपी कोइरालाको आदर्शलाई पछ्याएर हिड्ने पक्ष देखिन्छ भने अर्को पक्ष पैसाको चलखेलमा देखिन्छ । चुनावी परिणामले यी दुवै पक्षलाई दुधको दुध, पानीको पानी बनाएर छुट्याइदिएको छ । यो चुनावी परिणामसँगै कांग्रेसभित्र भोलीको उत्तराधिकारीको बहस समेत सुरु हुन थालेको देखिन्छ ।

माओवादी केन्द्रसँगको चुनावी तालमेल फेल !
त्यस्तै, कांग्रेसभित्र अर्को बहस पनि चर्केको देखिन्छ । स्थानीय तहको चुनावमा माओवादी केन्द्रसँगको चुनावी तालमेल असफल भएको भन्दै कार्यकर्ताहरुले नेतृत्वको आलोचना गरिरहेका छन् । केही स्थानमा चुनावी तालमेल सफल भएजस्तो देखिए पनि समग्र चुनावमा यो तालमेल फापेको देखिएन ।

कांग्रेसको मतपरिणाम घट्नुमा अलोकप्रिय शक्तिको रुपमा रहेको माओवादी केन्द्रसँगको तालमेलले पनि काम गरेको कांग्रेस कार्यकर्ताहरु बताउँछन् । यदि नेपाली कांग्रेसले एक्लै चुनाव लडेको थियो भने उसको पक्षमा निकै मत झर्न सक्थ्यो ।

कांग्रेसलाई झर्ने मत पनि माओवादीका कारण झर्न सकेन । उदाहरणका लागि दोश्रो चरणको निर्वाचनमा विराटनगरमा कुनै पार्टीसँग तालमेल नगरी चुनाव लडेको कांग्रेसले निकै सम्मानजनक ढंगले विजय हासिल गरेको छ । विराटनगर कांग्रेसको ऐतिहासिक राजनीतिक थलो त छँदै थियो, त्यसमा पनि पार्टी नेतृत्व र कार्यकर्ताहरुको अथाह मिहेनत र इमान्दारिताले त्यहाँ ऐतिहासिक विजय प्राप्त गर्न सफल भएको देखिन्छ ।

त्यसैगरी अन्य क्षेत्रमा समेत कांग्रेसले एक्लै चुनाव लडेको भए दोश्रो संविधानसभामा आएजस्तै मतपरिणम आउन सक्ने कांग्रेसलाई नजिकबाट बुझेका राजनीतिक विश्लेषकहरु बताउँछन् । त्यसैले पनि के भन्न सकिन्छ भने माओवादीसँगको तालमेल कांग्रेसका लागि नफापेको देखिन्छ ।