मनोरञ्जन

प्लस टु पढ्ने दुई प्रेमी–प्रेमिका बीचको फेसबुक च्याटको कथा ! (सत्य घटना)

म सम्झन्छु, हाम्रो बाल्यकालदेखि अहिलेको किशोर अवस्थासम्मको रमाइलो क्षण । हाम्रो जीवन निकै रमाइलो र उमंगका साथ अघि बढ्ने गर्दथ्यो । हामी खेलुकुदका अतिरिक्त च्याटमा समेत रमाउथियौ । हाम्रो समय सुचनाको युगमा परिणत भैसकेको छ । सुरु–सुरुमा मिठा-मिठा कुराहरु त्यसपछि माया पिरतीको कुरा पनि गथ्र्यौं । अहिले त्यसलाई इन्टरनेटले निकै सहज बनाइदिएको छ ।  त्यसबेला हामी निकै रमाइलो कुरा र हाँसो ठट्टामा समय बिताउने गर्दथ्यौं । लामा–लामा रातका समयहरु पनि कति थोरै लाग्थ्यो हामीले । जब बिहान हुन्थ्यो, लागि रहन्थ्यो कहिले साँझ हुन्छ अनि फेरि त्यो च्याट गर्ने समयको सुरुवात भैहाल्ने । त्यो साँझ कतिखेर आउला भनि साँझको पर्खाइमा मेरा हरेक दिन बित्न थालेका थिए ।

उनको आइडी कति खेर अनलाइनमा खुल्ला भनेर म प्रतिक्षारत हुन्थे । उनको आइडी खुल्न जब ढिलो हुन्थ्यो, मनमा अनेक किसिमका भावनाहरु आइरहन्थे । के भयो होला ? किन ढिलो गरेको होला ? कतै केहि कुराले त रिसाइनन् ? म सँग भन्ने कौतुहलताले मलाई निकै पिरोलिरहन्थ्यो ।  यस्तो सोचाइलाई उनको (हाई) सन्देशले भंग गरिदिन्थियो । अनि फेरि सुरु हुन्थे मेरा रमाइला पलका क्षणहरु । सुरु हुन्थे मायाका कुराहरु । म आफ्नो घरपरिवार, कार्यहरु, निन्द्रा सबै बिर्सिन्थे । सोच्थे मायानै हो सबैथोक, यसलाइ कसैले रोक्न सक्दैन । तर मलाइ सबैभन्दा ठुलो डर थियो कि कतै उनले मलाइ छोडेर जाने त होइन ? किनभने हाम्रो धर्म, संस्कृतिनै अलग थियो ।

उनी मलाई सँधै सम्झाउने गर्थिन् । कि हाम्रो माया सम्भव छैन, आफ्नो करियरलाई अघि बढाउ, भविष्यको बारेमा सोच्ने गर, सफलताको पछाडि लाग, म जस्तो केटीहरु जति पनि पाउनेछौ भन्दै उनले मलाई बारम्बार सम्झाउने गर्थिन् । तर म उनको कुरालाई सुने पनि नसुनेझैँ गरेर एउटा कानले सुनेर अर्को कानले उडाइदिन्थे । प्रेममा एक किसिमको शक्ति हुन्छ, यस्तै–यस्तै सोचेर मेरा मनका भावनाहरुलाई शान्त पार्थे । म हाम्रो प्रेमलाइ सफल बनाउन अनेक प्रयास गर्दथे ।

हाम्रो प्रेममा टुसा पलाउदैथियो, अब म मुना पलाउने आपेक्षामा थिए, यस्तै सोचाइमा मेरा हर दिन हर रात बित्न थाले । उनी धेरै टाढा त थिइनन् तर पनि मलाइ टाढा भएको महसुस भइरहन्थ्यो र सोच्थे समय आएपछि भेट हुन्छ होला भनेर । मैले सुनेको थिए “Patience is the great virtue of Love”धैर्यता नै मायाको प्रतिक हो भनेर । मन बहकिने गथ्र्यो । कताकता टाढा पुग्थ्यो, भविष्यको कुरा सोच्न पुग्थे । म सोच्थे, मेरो प्रेम सफल हुन्छ अनि यो सफल प्रेमलाई सम्बन्धमा जोड्ने छु । उनलाई सधैको लागि आफ्नो बनाउने छु ।

एकदिन उनि च्याटमा आइनन् । मनमा विभिन्न प्रश्नहरु उठ्न थाल्यो, छटपट्टी हुन थाल्यो । मज्जाले निन्द्रा लागेन, लागोस् पनि कसरी जानि–नजानि प्रेममा बाँधिएको मन, कहाँ चित्त बुझाउन सकिदो रहेछ र ? त्यो रात त्यसै–त्यसै गीतहरुको धुनमा आफुलाइ कल्पनामा डुबाएर बिताउन थाले । अर्को दिन साँझ पर्दैथियो, म अनलाइन गएर उनी आउने प्रतिक्षामा बसिरहेको थिए तर साँझ सकिएर रात ढल्कदै थियो । अह, उनी आइनन्, अफलाइन म्यासेज छाडे, उनको नम्बरमा सन्देश पठाए, उत्तर आउलाकि भनेर मोबाइल बारम्बार हेरे तर आएन । रुन मन लाग्यो, मनभित्र आँशु झरी सकेको थियो तर आँखामा दर्साउन भने सकिन ।

धेरै माया गर्थे उनलाई तर उनले बुझ्न सकिनन् । बिभिन्न–बिभिन्न बाहनाहरुको साथमा उनी म बाट दिनदिनै टाढा हुँदै गइन, म भने उनको तस्वीर हेर्दै कल्पनामा डुबी रहन्थे । आखिर किन उनले मेरो माया, भावना नबुझेको होला भन्दै मनमनै रिस उठ्न थाल्योे उनीसँग, अनि भगवानसँग । किन यत्रो संसारमा भगवानले मलाइ मात्रै तड्पाएको होला भन्दै भगवान प्रति असाध्यै रिस उठ्यो । यस्तै–यस्तै गर्दै मेरा बिरक्तिएका दिनहरु बितिरहेका थिए ।

उनको यादले पोलेको छातिमा मलम लाउने कोशिस गरिरहेको थिए । मेरो सोच सबै भ्रम रहेछ । उसलाइ पाउनु मेरो सपना रहेछ । चाहन्थे उनको हर पाइलामा म साथ दिन खोज्थे । उनको सपनामा म केही समय त डुबे तर उसलाइ आफ्नो बनाउन भने सकिन ।  यस्तै गरेर मेरो मनलाई भुलाउन च्याटमै रमाउन थाले । च्याट मार्फत धेरै साथिहरु बनाए, अनि मेरा कुराहरु सुनाउथे । मेरा मनका पीडाहरु हल्का हुन्थ्यो । अनि त्यस्तै च्याट गर्दै जाँदा एकदिन एकजना केटीसँग परिचय भयो । च्याट गर्दै जाँदा उनको बारे सोधे । उनि र म त एउटै कलेज पढेका रहेछौं । मैले चिनेको रहेनछु । च्याटकै क्रममा उनी र म मिल्ने साथी भयौँ । म उनको कुराहरुमा  एकदमै सकारात्मक संकेत भेट्थे ।

उनको सोच एकदमै राम्रो थियो त्यस अर्थमा पनि म उनि प्रति आकर्षित हुँदै  थिए । उनी र म यति नजिक भयौँ कि त्यो मित्रता कति खेर मायामा परिणत भयो पत्तो भएन । दुवै जनाले एक अर्कामा खुल्ला रुपमा प्रेम प्रस्ताव नराखी नै मायामा थियौँ हामी । उनीसँग  नबोली बस्न नसक्ने मेरो आदत भैसकेछ, उसँग बोल्नै पर्ने जरुरत भैसकेछ, उनीसँग त मलाई मोहब्बत लागिसकेछ । तर उनको बारेमा बुझ्दै जाँदा मलाई खिन्न लाग्यो, उनी त म भन्दा पढाईमा ३ ब्याज सिनियर रैछनन् र उमेरले पनि ३ वर्ष ठुली । तर म सोच्थे माया अन्धो हुन्छ, न मायाले जात हेर्छ, न त उमेर नै । यहि सोचेर मैले त्यो सम्बन्ध अगाडि बढाउदै थिए तर मलाई डर थियो यो  समाजको, के भन्ने हो ? अनि मेरो परिवारको ? मैले यस्तो गर्दा के होला ? आखिर मैले पनि त आफ्नो स्वार्थ मात्रै हेरेर भएन । त्यसकारण मैले त्यो मायालाई साथीमा मात्र फेरेर लैजाने प्रयास गरे । मैले उनलाई त भनिन तर आफै उनीबाट टाढा हुन थालें ।

म च्याटमा त्यति जान छोडे । कहिले काहि जान्थे । अहिले पनि जान्छु । के छ, कसो छ ? त्यति मै च्याट सिमित हुन्छ । उनी र म अहिले पनि राम्रो साथी छौ र खुशी पनि लाग्छ किनकि उनलाई मैले सुुरुमै धोका भन्ने चीजबाट बन्चित गरे, सुरुमै आफैलाई बुझाउन सके अनि उनको जीवनसँग खेलबाड गरिन । कसैलाई चाहेर पनि पाइएन, कसैलाई पाएर पनि चाहिएन । धिक्कार छ मेरो यो बिवस्ताको जिन्दगीदेखि, यो समाजको परिधिदेखि कसैलाई  मनबाट चाहेर पनि पाउन गाह्रो छ, कसैलाई यहि समाजको कारणले गुमाउनु पर्दो रहेछ ।

आखिर यो समाज के गर्दा खुशी हुन्छ ? अरुको मन छिया–छिया भएर तड्पिएको हेर्दा खुशी हुन्छकि अरुको दुःखवेदनामा रमाउने हुन्छ ? बैंशमा मातिएर ठिटाहरुसँग लठिएर हिँड्दा पचाउने यो समाज, आफुसँग उमेर नमिल्ने, पढाई नमिल्ने, जात, धर्म, संस्कृति नमिल्ने सँगको चोखो सम्बन्धलाई नपचाउने यो समाज कस्तो समाज ? कहिले बदलिन्छ हाम्रो समाजको यस्तो सोच, भावना, बिचार ? कहिले होला हामीले आफ्नो खुशीको साथमा जिन्दगी बिताउन पाउने ? म हाम्रो समाजको सोच बदलिएको हेर्न  चाहन्छु । यसको लागि म जस्तोसुकै कदम पनि चाल्न तयार छु,  म आफु भन्दा उमेरमा ठुलो, धेरै पढेको, धर्म, जात, संस्कृति सबै अलग भएको केटीसँग आफ्नो जीवनको यात्रा सुरु गर्न चाहन्छु । यो समाजलाई देखाउन चाहन्छु कि माया, सत्यता, सहयोग आदिको जित हुन्छ । धर्म, उमेर, जात, संस्कृत जस्तो कुरा प्रतिको भेदभावको जित कहिल्यै पनि हुदैन ।