पु.समाचार

राजतन्त्रबारे फैसला गर्न जनमतसंग्रहको बहस, कसले के भने ?

काठमाण्डौ । नेपाल ल क्यापसमा एलएलबीमा अध्यनरत कीर्तिपुरका संविधा वाग्लेले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन नभई नेपालमा राजतन्त्र चाहिनेरनचाहिनेबारे जनमतसंग्रह गर्न चुनौती दिएका छन् ।  ‘राजतन्त्रबारे जनमतसंग्रह भए कुल मतदाताको दुई तिहाइ मत राजाको पक्षमा जान्छ । यस्तो जनमत सिर्जना हुनुका पछाडि मुलुकको आर्थिक, प्राकृतिक स्रोत–साधनमा राजनीतिक दलका अनगिन्ती राजा र उनका भाइभारदारका रूपमा देखिएका कार्यकर्ताबीच भागबन्डा हुनु नै हो ।’

महान् राजनीतिक दार्शनिक रुसोको डेमोक्रेसीको सिद्धान्त ‘फर दि पिपुल, बाई दि पिपुल र टु दि पिपुल’ को सट्टा नेपालका प्रमुख दलले ‘फर दि नेता, टु दि कार्यकर्ता र टु दि पार्टी’ गरेकै कारण आज गणतन्त्रप्रति आमजनतामा वितृष्णा फैलिएको उदाहरण उनले दिए। रत्नराज्य लक्ष्मी क्याम्पसमा अंग्रेजी विषयमा स्नातकोत्तरमा अध्यनरत कीर्तिपुरकै सुमन आचार्यले पनि राजतन्त्र चाहिन्छ कि चाहिँदैन भन्दै जनमतसंग्रह गर्न दललाई चुनौती दिए।

उनले भने, ‘मुलुकको आर्थिक, सामाजिक, शैक्षिक, रोजगारी, सर्वसाधारणको दैनिकीलगायत क्षेत्रमा गणतन्त्रका ठेकेदारहरूले गरेको लुट नै आजको असन्तुष्टि हो । महेन्द्रले जग बसालेको आर्थिक पूर्वाधारसमेत प्रजातन्त्र र गणतन्त्रका नाममा सिध्याउने कार्य प्रमुख दलबाटै भएको छ । त्यसैले मुलुकको इतिहास र भूगोल बचाउन पनि राजतन्त्र अपरिहार्य छ ।’

गोरखनाथ मृगस्थली पुस्तकालयमा कार्यरत बालानाथले मुलुक अत्यन्त जटिल र गम्भीर अवस्थाबाट गुज्रिरहेकाले यो देशको संस्कार, संस्कृति र सभ्यता जोगाउन पनि राजतन्त्र आपरिहार्य रहेकोमा जोड दिए।

देवताविनाको मन्दिरजस्तै राजाविनाको देशको अस्तित्व नरहने जिकिर गर्दै उनले भने, ‘राष्ट्र अस्थिरता र अशान्तबाट गुज्रँदै गएकोतर्फ आमनागरिक सचेत र सजग हुनु जरुरी छ ।’ हिन्दु र हिन्दुत्व नेपालको पहिचान रहेकोमा उनले जोड दिए।

सिन्धुपाल्चोकका ६३ वर्षीय केशर खड्काले महाभूकम्पबाट पिल्सिएका सिन्धुपाल्चोकलगायत जिल्लाका पीडितको जप ‘राजा आऊ छाना देऊ’ भन्ने रहेको बताए।
शनिबारको अन्नपूर्णमा लेखिएको छ, तत्कालीन राजसभाका सदस्य गुल्मीका ८४ वर्षीय वैकुण्ठबहादुर चन्दले गणतन्त्र नचल्ने भन्दै राजा चाहिनेमा जोड दिए । स्थानीय चुनाव भए पनि मुलुकमा शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै उनले भने, ‘जनताको कर लुट्दै चुनावमा जाने सत्ता र प्रतिपक्षी दलले २१ औं शताब्दीका युवाको मागलाई सम्बोधन गर्न सक्दैनन् ।’

देश जोगाउन सुदृढ भूमिका खेलौं: पूर्वराजा
पूर्वराजा ज्ञानेन्द्र शाहले निर्वाचित जनप्रतिनिधिलगायत आमनेपालीसँग देश जोगाउन र जोड्नमा सुदृढ भूमिका खेल्न आग्रह गरेका छन्। आफ्नो ७१ औं शुभजन्मोत्सवका अवसरमा हिमाल, पहाड र तराईबाट ठूलो संख्यामा शुभकामना दिन आएका युवाको आह्वान र पत्रकारको साक्षात्कारमा पूर्वराजा शाहले भने, ‘देश जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सुदृढ राष्ट्रिय एकता होस् । यस्तो भावना आमनेपाली र खासगरी जनप्रतिनिधिसँग मेरो विशेष आग्रह छ ।’

शुभकामना दिन उपस्थितहरूले राजा आऊ, देश बचाऊ भन्दै राजसंस्थाबारे जनमत संग्रहको माग राखेकै बेला पूर्वराजा शाहले भने, ‘पद, प्रतिष्ठा र प्रशंसाभन्दा मेरो निरन्तरको चाहना देशभक्ति नै हो । हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा समृद्धिको बाटोमा अघि बढोस्, मेरो मूल चाहना र कामना यही नै हो ।’

यही विचारका साथ मुलुकलाई अघि बढाउन र देशलाई एकताबद्ध रूपमा लैजान नेतृत्व अघि बढ्नुपर्छ भन्ने आफ्नो चाहना रहेको पूर्वराजाले बताए। ‘राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एकजुट हुनै पर्छ । हेरकपल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपूर्व एकताका लागि हामी सधैँ तयार रहनुपर्छ । देश विखण्डन नहोस् भन्नाका लागि एकताको खाँचो छ । एकता भएरै लाग्नुपर्छ भन्ने मेरो सधैँ सबैमा कामना छ’, उनले भने।

पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेका बेला हामी भने कस्तुरी हराएको मृगझैँ शून्यतामा हराइरहेका छौं, अब क्रियाशील ऊर्जा बोकेर ब्युँतन ढिला गर्न नहुनेमा पूर्वराजाले जोड दिए। निराशा बोकेर बिदेसिएको ऊर्जाशील युवाशक्तिलाई स्वदेशमै गरी खाने बाटो बनाइदिने उपाय खोज्न पनि हामी नै जागरुक हुनुपर्ने उनले बताए । पूर्वराजाले मन्तव्यको अन्त्यमा ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने सारभूत सूत्रको स्मरण गर्न पनि आग्रह गरेका थिए।

निर्मल निवासमा भएको जन्मोत्सव कार्यक्रममा पूर्वराजालाई शुभकामना दिन विभिन्न दलका नेता तथा कार्यकर्ता, विभिन्न विद्यालय र विश्वविद्यालयका विद्यार्थी स्वस्फूर्त रूपमा सहभागी भएका थिए । यसैगरी, नागरिक अभिनन्दन मूल समारोह समिति, विश्व हिन्दु महासंघ, विभिन्न धार्मिक संघसंस्था, क्लब, टोललगायतले आआफ्नो धर्म र संस्कृतिअनुसार बाजागाजा, झाँकी प्रस्तुत गरेका थिए ।