आर्थिक

एनसेलका नयाँ प्रबन्ध सञ्चालक अमरासेकरासँग दूरसञ्चार क्षेत्रमा २५ वर्षको अनुभव

काठमाडौ । सुरेन जे. अमरासेकरा नेपालको अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् ।

अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । साथै एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा रही दक्षिण एशिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने छन् ।

नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु जस्तै सिङ्गापुर टेलिकम्युनिकेसन्स् लिमिटेड (सिङ्गापुर), मोबीटेल (श्रीलङका), म्याक्सिस बर्हाद (मलेसिया) र एयरसेल लिमिटेड (भारत) मा काम गरिसकेका छन् । ९ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा र १६ वर्ष उच्च व्यवस्थापनको विभिन्न पदहरुमा रही काम गर्दै उनले दूरसञ्चार क्षेत्रमा २५ वर्षको विस्तृत अनुभव संङ्गालेका छन् ।

अमरासेकरा एनसेलमा प्रबन्ध सञ्चालकको रुपमा नयाँ कार्यभार सम्हाल्न लाग्नु भएकोमा एनसेलको सञ्चालक समितिले खुशि व्यक्त गरेको छ । भारत, मलेसिया, श्रीलङका तथा सिङगापुर लगायतका विभिन्न देशहरुका चर्चित दूरसञ्चार कम्पनीहरुमा काम गरेको विस्तृत अनुभव सहित उनको नेतृत्वमा एनसेलले नयाँ कोसेढुंगा थप्दै, डिजिटल इन्क्लुजनद्वारा देशको समग्र प्रगतिमा योगदान पु¥याउने विश्वास एनसेलको सञ्चालक समितिले लिएको छ ।

सञ्चालक समितिले साइमन पर्किन्सलाई संक्रमणको समयमा प्रमुख योगदानकर्ताको रुपमा नेतृत्व प्रदान गरी एनसेललाई उल्लेखनीय योगदान पु¥याएकोे भन्दै धन्यवाद ज्ञापन गरेको छ ।

‘‘यो अवसर पाएकोमा म निकै नै गौरवान्वित छु । एनसेलसँग आवद्ध भई एनसेललाई ग्राहकको आफ्नै ब्राण्डको रुपमा स्थापित गर्दै, डिजिटल नेपालका लक्ष्य प्राप्तिमा योगदान पु¥याउदै, आजीआटाको ‘एडभान्सिङ एसिया’ को लक्ष्य हासिल गर्न इच्छुक छु,’’ एनसेलका नव नियुक्त प्रबन्ध सञ्चालक, सुरेन जे. अमरासेकराले भन्नु भयो ।

एनसेलसँग आवद्ध हुनु अघि अमरासेकरा आजीआटा गु्रप बर्हादको प्रधान कार्यलय क्वालालम्पुर, मलेसियामा रणनीतिक परियोजना निर्देशकको रुपमा गु्रपले दक्षिण एसियाली क्षेत्रहरु बंगलादेश, नेपाल, श्रीलङ्का तथा पाकिस्तानमा पहल गरेका कार्यहरुमा केन्द्रीत थिए ।

यस अघि सन् २०१४ देखि २०१७ सम्म अमरासेकराले एयरसेल लिमिटेडमा प्रमुख इन्टरप्राइज अधिकृतका रुपमा सम्पूर्ण भारतको फोरजी÷एलटिई सेवा, इन्टरप्राइज, होलसेल र क्यारीअर ब्यवसायको नाफा नोक्सानको जिम्मेवारी लिदै आफ्नो कार्यभार सफलतापुर्वक सम्हालेका थिए । एयरसेल लिमिटेडसँग आवद्ध हुनु अधि अमरासेकराले म्याक्सिस् बहार्द, क्वालालम्पुर, मलेसियाको लागि सह प्रमुख अपरेटिङ् अधिकृतका रुपमा काम गरेका थिए । उनकै नेतृत्वमा म्याक्सिस् मलेसियामा फोरजी सेवा व्यावसायीक रुपमा सुरु गर्ने पहिलो कम्पनी बन्न सफल भएको थियो । म्याक्सिस्सँग रही काम गर्दा उनले ब्रिज एलायन्सको बोर्डको सदस्यको रुपमा पनि काम गरेका थिए । यो एलायन्स ७५ करोड भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको विभिन्न ३७ अग्रणी मोबाइल सेवा प्रदायकहरुको संगठन हो ।

यस अघि अमरासेकराले १३ वर्ष सिङगापुरको सिङ्टेलमा व्यवस्थापनको विभिन्न उच्च तहमा रहेर काम गरेका थिए । त्यसपश्चात् उनले श्रीलङकाको मोबीटेलमा ६ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा कम्पनीको नेतृत्व गर्दै ५ वटा सेवा प्रदायकहरु रहेको अत्यन्त प्रतिस्पर्धि बजारमा मोबीटेललाई दोश्रो स्थानमा पु¥याउन सफल भएका थिए ।

विभिन्न खाले बजारमा संगालेका अनुभव एवं बहुसांस्कृतिक परिवेशमा सहजै घुलमिल हुनसक्ने दक्ष सिपका कारण अमरासेकराले एनसेललाई अझ उचाईमा पु¥याउन मद्दत गर्नेछन् ।

अमरासेकराले अमेरिकाको न्युयोर्कमा अवस्थित सिराक्युस विश्वविद्यालयबाट कम्प्युटर सिस्टम इन्जीनियरिङ्मा स्नातक तथा स्नातकोत्तर गरेका छन् । यसका साथै उनले अमेरिकाको इलिनोइसमा रहेको बुथ स्कुल अफ बिजनेस, युनिर्भसिटी अफ सिकागोबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर पनि गरेका छन् ।