अन्तर्राष्ट्रिय

जर्मनीमा झडप, ७६ जना प्रहरी घाइते

एजेन्सी । जी- ट्वेन्टी समूहमा रहेका देशहरुको शिखर सम्मेलन शुरु हुनुअघि जर्मनीको ह्यामबर्ग शहरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ७६ जना प्रहरी अधिकृतहरु घाइते भएका छन्। प्रहरीका अनुसार घाइते अधिकृतहरुलाई उपचारका लाग अस्पताल पुर्याइएको छ। केही प्रदर्शनकारीहरु पनि घाइते भएको बताइएको छ।

करिब १२ हजार प्रदर्शनकारीहरु नर्कमा स्वागत छ नाम दिइएको प्रदर्शनमा सहभागी भएका थिए। त्यो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप शुरु भएको थियो।

बोतल, ढुंगा जस्ता वस्तु फ्याकिरहेका प्रदर्शनकारीहरुमाथि प्रहरीले पानीको फोहरा चलाउँदै पिरो पदार्थ छर्किएका थिए। झडपपछि प्रदर्शन स्थगित गरिएको थियो तर प्रदर्शनकारीहरु मुख्य सडक र शहरका अन्य भागमा छरिएका थिए।