राजनीति

सुनसरीका इनरुवा लगायत तीन स्थानीय तह कांग्रेसको कब्जामा

सुनसरी । सुनसरीका तीन स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ । जिल्लाको प्रभावशाली नगरपालिका इनरुवासँगै रामधुनी नगरपालिका र हरिनगर गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको हो ।

इनरुवा नगरपालिकामा कांग्रेसका राजन मेहता १० हजार ९ सय ८७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका पोष्टकुमार नेपालले ९ हजार ८ सय १३ मत ल्याएका छन् । त्यस्तै सोही नगरपालिकाको उपमेयरमा कांग्रेसकै जमुना पोख्रेल विजयी भएकी छन् । उनले १० हजार ९ सय ६ मत ल्याएकी छन् ।

उता, जिल्लाको रामधुनी नगरपालिकामा कांग्रेसकै जयप्रसाद चौधरीले ९ हजार ७ सय ६ मतका साथ विजय प्राप्त गरेका छन् । सो नगरपालिकामा उपमेयर भने एमालेले जितेको छ । उपमेयरमा एमालेकी सबिना चौधरीले ९ हजार ७ सय ४२ मत प्राप्त गरेकी छन् ।

त्यस्तै जिल्लाको हरिनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गफार अन्सारी ५ हजार ६ सय ५२ मतका साथ विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै रिमझिमकुमारी भगत ५ हजार ९६ मतसहित विजयी भएकी छन् ।