पु.समाचार

खोटाङमा पाँच एमाले, चार काँग्रेस र एक तहमा माओवादी विजयी

खोटाङ । जिल्लाको दश स्थानीय तहमध्ये नेकपा (एमाले)ले पाँच, नेपाली काँगेस चार र नेकपा (माओवादी केन्द्र)ले एक तहमा विजयी भएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको यो जिल्लामा एमालेले एक नगरपालिका र चार गाउँपालिका, काँग्रेसले एक नगरपालिका र तीन गाउँपालिका तथा माओवादी केन्द्रले एउटा गाउँपालिकामा विजयी भएका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो तथा सदरमुकाम रहेको रुपाकोट मझुवागढी नगरपालिकामा एमालेले प्रमुख÷उपप्रमुखसहित पाँच वडामा जितेको छ । १५ वडा रहेको उक्त नगरपालिकामा तीन काँग्रेस, तीन माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम र माओवादी केन्द्रले एक एक वडामा विजयी भएका छन् ।

त्यस्तै हलेसी तुवाचुङ नगरपालिकामा काँग्रेसले प्रमुख÷उपप्रमुखसहित आठ वडामा विजयी भएका छन् । एघार वडा रहेको उक्त नगरपालिकामा दुई एमाले र एक वडामा माओवादी केन्द्र विजयी भएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्षसहित दुई वडामा काँग्रेसले विजयी भएका छन् भने उपप्रमुखसहित एमालेले तीन र माओवादी केन्द्रले दुई वडामा विजयी भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए।