राजनीति

अधिकांश नगरहरुमा एमाले यसरी भयो तेश्रो, कांग्रेस दोश्रो भन्दा तल झर्नुपरेन !

काठमाण्डौ । दोश्रो चरणको मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच चर्को प्रतिस्पर्धा देखिएको छ । यी दुई पार्टीबीच चर्को प्रतिस्पर्धा देखिएपनि केही स्थानमा भने एमाले तेश्रो स्थान र कांग्रेस दोश्रो स्थानमा समेत देखिएका छन् । चुनाव सम्पन्न भएका एक महानगर र सात उपमहानगरमा त्यस्तो खालको मतपरिणाम देखिएको हो । एमालेलाई पश्चिम नेपालका प्रभावशाली स्थानीय तहका रुपमा रहेको नेपालगञ्ज उपमहानगरमा आफ्नो अस्तित्व जोगाउननै धौ–धौ परिरहेको छ भने उता धनगढी उपमहानगरपालिकामा समेत एमाले तेश्रो स्थानमा रहन वाध्य भएको छ ।

नेपालगञ्जमा राप्रपाका धवलशम्शेर राणासँग नेपाली कांग्रेसका डा.सुरेश्कुमार कनोडियाले चर्को प्रतिस्पर्धा गरिरहेका छन् भने एमालेका समशुद्धिन सिद्धिकी तेश्रो स्थानमा दौडिरहेका छन् ।

त्यस्तै केही नगरपालिकाहरुमा समेत एमाले तेश्रो स्थानमा देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिकामा समेत एमालेले तेश्रो स्थानमा चित्त बुझाएको छ । सो नगरपालिकामा नेपाली कांग्रेसका भीमबहादुर साउद विजयी भइसकेका छन् ।

त्यस्तै, कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा समेत एमाले तेश्रो भन्दा तल रहेर प्रतिस्पर्धा गरिरहेको छ । सो नगरपालिकामा नेपाली कांग्रेस अघि देखिएको छ भने स्वतन्त्रका उम्मेद्वार दोश्रोमा रहेका छन् ।

त्यस्तै, रोल्पा नगरपालिकामा पनि एमाले तेश्रो स्थानमा खुम्चिएको छ । रोल्पा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेद्वार पूर्ण केसीले जित हासिल गरेका छन् । केसीसँग कांग्रेसले चर्को प्रतिस्पर्धा गरेको थियो । यी लगायत अधिकांश स्थानीय तहहरुमा एमाले तेश्रो स्थानमा पनि देखिएको छ । यद्यपि, दोश्रो चरणको चुनावको समग्र मतपरिणाममा उसले अग्रता हासिल गरिरहेको छ ।

त्यस्तै, मुलुककै एक नम्बर पार्टीको रुपमा रहेको नेपाली कांग्रेस दोश्रो चरणको चुनाव भएका सात उपमहानगरपालिकामध्ये केहीमा दोश्रो स्थानमा प्रतिस्पर्धा गरिरहेको छ । नेपाली कांग्रेस घोराही, इटहरी, धरान, बुटवल नेपालगञ्ज,तुल्सीपुर उपमहानगरपालिकामा दोश्रो स्थानमा प्रतिस्पर्धा गरिरहेको छ ।

घोराहीमा एमालेका नरुलाल चौधरीसँग कांग्रेसका भूपबहादुर डाँगीले चर्को प्रतिस्पर्धा गरिरहेका छन् भने इटहरी उपमहानगरपालिकामा एमालेका द्वारिकालाल चौधरीसँग कांग्रेसका रोहित प्रसाइले प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै, अन्य उपमहानगरपालिकामा पनि यसैगरी कांग्रेसले अन्य दलका उम्मेद्वारहरुसँग चर्को प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाली कांग्रेस एमालेजस्तै तेश्रो स्थानमा त्यति धेरै झरेको भने देखिदैन । उसले कि त पहिलो स्थान हासिल गरेको छ, नत्र भने दोश्रोमा प्रतिस्पर्धा गरिरहेको देखिन्छ ।