पु.समाचार

नाम थप भएपनि दश हजारभन्दा बढी नागरिक परिचयपत्र नपाएको इन्शेकको दावी

काठमाडौँ। अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जनतालाई आतङ्कित बनाउन ठाउँ ठाउँमा बम राखिएको भए पनि मतदाताले निर्भयतापूर्वक मतदान गरेको जनाएको छ ।

केन्द्रले गरेका अनुगमनपछि जारी गरिएको प्रतिवेदनमा मोरङमा विसं २०७० को भन्दा करिब १० हजार ६०० मतदाताको नाम थप भए पनि उनीहरुको परिचयपत्र नभएको तथा दमक नगरपालिकाका विसं २०७० को मतदाता नामावलीमा नाम भएका करिब पाँच सय मतदाताको नाम छुटेको पाइएको छ ।

केही स्थानमा मतदाता शिक्षाको अभावका कारण अधिकांश मतदाता अलमलमा परेकाले बदर मतको सङ्ख्या बढ्ने जनाइएको छ । अनुगमन प्रतिवेदनमा निर्वाचनमा महिलाको सहभागिता अत्यन्त उत्साहपूर्ण पाइएको र कतिपय स्थानमा मतदान केन्द्र अपाङ्गतामैत्री नभएका कारण अपाङ्गता भएका व्यक्तिलाई मतदानमा समस्या भएको जनाइएको छ ।

मतदाता ओसार्न उदयपुर जिल्लामा अनुमति लिइएका सवारी साधनको प्रयोग गरिए पनि मोरङको लेटाङमा बुल्डोजरमा चढाएर मतदाता ओसारपसार गरिएको र मतपत्रको गुणस्तर कमजोर भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा ६४ लाख ३२ हजार ७६५ मतदाता थिए । सो निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा १५ हजार ३८ पदका लागि झन्डै ६२ हजार उम्मेदवार प्रतिस्पर्धामा छन् ।