राजनीति

प्रधानमन्त्री देउवाद्वारा निर्बाचन सफल बनाउन सहयोग गर्ने सबैलाई यसरी दिए बधाई !

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।  प्रधानमन्त्री देउवाले निर्बाचन सफल बनाउन सबैको उतसहजनक सहयोग भएकोमा खुसी व्यक्त गर्दै भनेका छन् ।

“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको स्थानीय तहकोे पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं। १, ५ र ७ का ३५ वटै जिल्लाका स्थानीय तहमा अत्यन्त उत्साहपूर्ण मतदान भएको छ । दशकौंसम्मको अविराम लोकतान्त्रिक संघर्ष–यात्राका आरोह–अवरोह र चुनौति पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त उपलब्धीलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर यो स्थानीय निर्वाचनले दिएको छ ।

संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवं मुलुकलाई स्वाधीन, स्वाभीमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणको राष्ट्रिय महायज्ञ (स्थानीय तहको यो निर्वाचन) मा सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरुले अत्यन्त उत्साह, संयम र धैयताका साथ आफ्नो मत दिनु भएको छ । निर्वाचनमा जनताको साथ, सहयोग र समर्थनले सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा मिलेको छ । दोस्रो चरणको निर्वाचनमा देखिएको उत्साहजनक जनसहभागिताले आगामी असोज २ गते प्रदेश नं.२ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचन र त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनको सफलताको पूर्व संकेत गरेको छ ।

भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा नेपाल सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । यसरी नै मतदान कार्यमा अहोरात्र खटिनु भएका राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकाय, राजनीतिक दलहरु, पत्रकारहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु लगायत उत्साहजनक सहभागिता जनाई मतदान गर्नु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई मेरो र पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।”