राजनीति

यस्तो छ भर्खरै प्राप्त मतगणनाको मतपरिणाम, कांग्रेसले लियो ह्वात्तै अग्रता !

काठमाण्डौ । बुधबार सम्पन्न भएको दोश्रो चरणको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन सुरु गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहहरु मध्ये केही गाउँपालिका र नगरपालिकाको मतगणना बुधबार बेलुकानै सुरु गरिएकोले प्रारम्भिक मतपरिणाम आउनु सुरु गरेको हो ।  अहिले सम्मको प्रारम्भिक मत परिणामअनुसार मतगणना भैरहेका १० वटा नगरपालिकामध्ये ६ वटामा नेपाली कांग्रेस अघि देखिएको छ भने त्यसपछि एमाले देखिएको छ ।

सुदुरपश्चिम विशेषगरी डोटीका दीपायल सिलगढी र शिखर, कञ्चनपुरको महाकाली, बैतडीको मेलौली र रूपन्देहीको देवदह नगरपालिकामा कांग्रेस उम्मेदवारले सुरुआती अग्रता लिएका छन्।

कञ्चनपुरको महाकाली नगरपालिकामा २५० मत गन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार १०८ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले दिएको जानकारी अनुसार दोस्रो स्थानमा रहेको एमालेले ५९ मत पाएको छ। २४ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ।
उपमेयरमा एमालेले १०१ मत पाएको छ भने कांग्रेसले ६० मत ल्याएको छ। राप्रपाका उपमेयर उम्मेदवारले २६ मत पाएका छन्। चौथो स्थानमा रहेको माओवादी केन्द्रले मेयरमा १२ र उपमेयरमा १५ मत पाएको छ। डोटीको शिखर नगरपालिकामा पनि नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

त्यस्तै प्रदेश नम्बर ५ को रुपन्देही जिल्लाको देवदह नगरपालिकामा १ सय मत गणना हुँदा कांग्रेसका मेयरका उम्मेद्वार हिराबहादुर केही ३७ मत ल्याएका छन् भने एमालेका टिकाराम चापागाईले २४ मत ल्याएका छन् । तडीको मैलौलि नगरपालिकाको वडानम्बर १ को ११५ मत गणना हुँदा कांग्रेस मेयर उम्मेदवारले ४१ मत पाएका छन् भने उपमेयरले २८ मत पाएका छन्।

दोस्रो स्थानमा रहेका एमाले मेयर उम्मेदवारले ३१ मत पाएका छन् भने उपमेयर उम्मेदवारले २४ मत पाएका छन्। माओवादी केन्द्र भने मेयरमा २६ र उपमेयरमा १८ मत ल्याएर तेस्रो स्थानमा रहेको बताइएको छ । त्यस्तै नेकपा एमालेले संखुवासभाको खाँदबारी नगरपालिकामा अग्रता लिएको छ।

नगरपालिकाको वडा नम्बर १० को ३२३ मत गनिसक्दा मेयरमा एमालेका उम्मेदवारले १५९ मत ल्याएका छन् भने १२६ मत ल्याएर कांग्रेस उम्मेदवार दोस्रो स्थानमा छन्। माओवादी केन्द्रले १२ मत पाएको बताइएको छ । उपमेयरमा एमालेका उम्मेदवारले १४९ मत ल्याएका छन् भने १३७ मत ल्याएर कांग्रेस उम्मेदवार दोस्रो स्थानमा छन्। माओवादी केन्द्रले ११ मत पाएको छ ।

कैलालीका दुई नगरपालिका टीकापुर र भजनीमा भने उपप्रधानमन्त्री विजय कुमार गच्छदार नेतत्वको नेपाल लोकतान्त्रिक फोरम अगाडि छ। दोस्रो स्थानमा रहेका कांग्रेस मेयर उम्मेदवारले २३ मत र उपमेयरले २४ मत पाएका छन्। एमालेका मेयर उम्मेदवारले २१ मत पाएको छन् भने उपमेयरले १४ मत पाएका छन् । त्यस्तै अन्य केही नगरपालिकामा पनि कांग्रेस अघि देखिएको छ ।