राजनीति

चुनावका लागि मौन अवधि सुरु, राजनीतिक दलहरुले प्रचार–प्रसार गरे कस्तो कार्वाही होला ? यस्तो छ नियम

काठमाडौं । दोस्रो चरणमा असार १४ गते बुधबार १, ५ र ७ प्रदेशका ३५ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार राति १२ बजेपछि मौन अवधि शुरु भएको छ । स्थानीय तह निर्वाचन, निर्देशिका अनुसार मौन अवधि लागु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरूको पक्ष वा बिपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता विपरीत निर्वाचनको प्रचार–प्रसार गरिएको पाइएमा राजनीतिक दल, संस्था, उम्मेदवार र व्यक्तिमाथि निर्वाचन आयोग ऐन बमोजिम कारबाही हुने निर्वाचन आयोगले जनाएको छ । त्यस्तो कार्वाही न्युनतमदेखि हदैसम्मको हुनसक्ने अयोगले जनाएको छ ।

मौन अवधि सन्चारमाध्यमहरुलाई पनि लागू हुन्छ । यस अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भोट माग्दै विज्ञापन वा सन्देश प्रकाश प्रसारण गर्न रोक लगाइएको छ ।

त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ‘एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने,’ उल्लेख छ ।

निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरुमा व्यवस्थापनको तयारीमा जुटिरहेका छन् । त्यस्तै, सुरक्षाकर्मीहरुले शान्ति सुरक्षाको चुस्त प्रवन्धका लागि तयारी गरिरहेका छन् ।