राजनीति

नेपाली कांग्रेसको लागि खुसीको खबर, चुनावको दुई दिन अघिनै सार्वजनिक भयो यस्तो रिपोर्ट !

काठमाडौं । निर्वाचनको मिति दुई दिनमात्रै बाँकी हुँदा प्रमुख दलहरु चुनावी जोड घटाउमा व्यस्त भएका छन् । यही असार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानिय तहको लागि मतदान हुँदैछ । प्रमुख दलहरुले निर्वाचनमा आफुले जित्ने न्युनतम देखि अधिकतम स्थानिय तहको संख्याको आँकलन निकाली रहेका छन् ।

नेपाली काँग्रेसले पहिलो चरणको निर्वाचनबाट दोस्रोमा खुम्चिनु परेकोमा पिडालाई मल्हम लगाउने योजना बनाएको देखिएको छ । काँग्रेसलाई जिल्लाहरुबाट प्राप्त भएको विवरण अनुसार बढीमा १५५ स्थानमा स्थानिय तह जित्ने र जसमध्ये १२५ स्थानमा जित निश्चित रहेको विवरण आएको छ ।

दाङ, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पार्टी बहुमतको अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ । प्रदेश नम्बर दुईमा निर्वाचन भएको भए दोस्रो चरणको निर्वाचनमा काँग्रेस एक नम्बरको पार्टी सजिल्यै बन्थ्यो । यद्यपि,अहिलेको रिपोर्टले पनि कांग्रेसकै पक्षमा बहुमत देखिएको छ । काँग्रेसमा कतै अन्तर्घात नभएको अवस्थामा एक नम्बरको पार्टी बन्ने निश्चित देखिएको छ ।

काँग्रेसले प्रदेश नम्बर १ मा ३५ प्रतिशत, प्रदेश ५ मा ४० प्रतिशत र प्रदेश ७ मा ५५ प्रतिशत स्थानिय तहमा चुनाव जित्ने विवरण प्राप्त भएको छ । यो रिपोर्ट अनुसार उसले १ सय ५५ भन्दा बढी सिट ल्याउने देखिएको छ ।

त्यस्तै प्रदेश १ मा नेकपा एमाले अघि देखिएको छ, प्रदेश ७ मा नेपाली काँग्रेसको बहुमत र प्रदेश पाँचमा नेकपा माओवादी केन्द्रसहितको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपा एमालेले निर्वाचनमा अधिकतम प्रयास र चलखेल गर्न सके १५० स्थान जित्ने रिपोर्ट एमाले केन्द्रीय कार्यालयमा पुगेको छ । तर अहिलेसम्म १२० स्थानमा मात्रै जित निश्चित रहेको र बाँकी ३५ ठाउँमा परिस्थिति अनुसार तलमाथि हुने रिपोर्ट एमालेले पाएको छ ।

एमाले प्रदेश नम्बर एकमा ५५ प्रतिशत ठाउँमा चुनाव जितेर बहुमतमा पुग्ने रिपोर्ट आएको छ । प्रदेश ५ मा ४० प्रतिशत र प्रदेश ७ मा ३५ प्रतिशत स्थानिय तहमा चुनाव जित्ने एमाले आँकलन छ । प्रदेश १मा ताप्लेजुङ, धरान लगायतका क्षेत्रमा एमाले विरुद्ध भएको अन्य दलको तालमेलले भने केही अप्ठेरो पर्ने एमालेले जनाएको छ ।

प्रदेश ५ मा गुल्मी, पाल्पा र रुपन्देहीमा एमालेको जिल्लागत रुपमा बहुमत आउने भएपनि अन्य जिल्लामा कडा प्रतिस्पर्धा रहेको छ । निर्वाचन हुने प्रदेश मध्ये एमालेको सबैभन्दा नाजुक अवस्था प्रदेश ७ मा रहेको छ ।

पहिलो चरणको निर्वाचनबाट आंशिक सफलता प्राप्त गरेको माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा पकड जमाउने योजनामा छ । धेरै जिल्लाहरुमा नेपाली काँग्रेससँग तालमेल गरेर निर्वाचन लडेका कारण पनि पार्टीको आकार केही बढ्ने उसको अपेक्षा छ ।

निर्वाचन हुने जिल्ला मध्ये रोल्पा, रुकुम, बर्दिया, कैलाली र कञ्चनपुरमा पार्टीको अवस्था राम्रो रहेको रिपोर्ट माओवादी मुख्यालय पेरिसडाँडामा पुगेको छ ।

विगतको आधार क्षेत्र भएपनि दाङ, प्युठान लगायतका क्षेत्रमा अझै पार्टीको अवस्थामा सुधार नआएको घटनाले माओवादी दुखी छ । माओवादीले बढीमा ८० स्थानिय तहका निर्वाचन जित्ने तथा ५० तहमा जित निश्चित रहेको रिपोर्ट आएको छ ।

उसले प्रदेश १ मा २० प्रतिशत, प्रद्रेश ५ मा ३० प्रतिशत र प्रदेश ७ मा ३० प्रतितश स्थानिय तहका चुनाव जित्ने रिपोर्ट प्राप्त गरेको छ । चुनावमा सहभागी विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकले सुनसरी, मोरङ, कैलालीमा केही स्थान जित्ने अवस्था छ ।

उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरमले सुनसरी, मोरङ, कपिलबस्तु, बाँके लगायतका जिल्लामा केही स्थानिय तह जित्ने अवस्था रहेको रिपोर्ट बाहिर आएको छ ।

यसबाट के पुष्टि हुन्छ भने अहिलेसम्मको रिपोर्ट अनुसार दोश्रो चरणको चुनावका प्रतिस्पर्धी भनेका नेपाली कांग्रेस र नेकपा एमाले नै हुन् । जुन पार्टीले बहुमत ल्याए पनि झिनो मतले तलमाथि हुने देखिएको छ ।

रिपोर्टअनुसार नेपाली कांग्रेसले १ सय २५ स्थानमा आफ्नो सिट सुनिश्चित गरेको देखिन्छ भने एमालेले १ सय २० स्थानमा आफ्नो सिट सुनिश्चित गरेको देखिन्छ । नेपाली कांग्रेस ७ नम्बर प्रदेशमा अघि देखिन्छ भने एमाले १ नम्बर प्रदेशमा अघि देखिएको छ ।

५ नम्बर प्रदेशमा भने कडा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । पछिल्लो रिपोर्ट अनुसार कांग्रेस अघि देखिएपनि चुनावी परिणामले भने के देखाउँछ त्यो भने हेर्न बाँकी नै छ ।