समाचार

एघार घन्टापछि मुग्लिन सडक खुल्यो

रत्ननगर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि आज बिहान ८:०५ बजेबाट यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण गएराति ९ बजेदेखि बन्द भएको यातायात पहिरो हटाएर ११ घन्टापछि सञ्चालनमा आएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिले दुईतर्फी नै बाटो खुलाइएकाले गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् । उहाँले यातायात सहज हुन अझै केही घन्टा लाग्ने बताए ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर रातिदेखि सडक अवरुद्ध भएको थियो । दुईतर्फबाट डोजरले पहिरो पन्छाएको थियो ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले राति पन्छाउन नसकेपछि बिहान ४ बजेबाट मात्रै पहिरो पन्छाउने काम सुरु भएको थियो । चार घन्टाको लगातारको प्रयासपछि बाटो खुलाइएको हो ।

ट्राफिक प्रहरीले नारायणगढ–मुग्लिन सडकमा पहिरो आउने क्रम जारी रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरेको छ ।